मोफसलः भ्रम कि यथार्थ ? (निबन्ध)

केही हप्ताअघि एउटा साहित्यिक कार्यक्रममा निम्त्याइएका राष्ट्रियस्तरमा गिनेचुनेका एक समालोचकले मोफसल केवल एउटा भ्रम मात्रै हो भनिदिए । त्यस्तो भ्रम, जुन वास्तविकतामा छैन । तर हाम्रो मस्तिष्कमा चाहिँ यसले बर्षौं देखि डेरा जमाइराखेको छ । राजधानी बाहिर बसेकै कारण हामी आफुलाई मोफसलको अपहेलित, किनारीकृत र पछाडी धकेलिएको ठान्छौं भने त्यो हाम्रो लघुताभाष मात्रै हो । अथवा काठमाण्डौं खाल्डोमा बसेकै कारण हामी आफुलाई राष्ट्रियस्तरको ठान्छौं भने त्यो हाम्रो अहम् मात्रै हो । तर, यहिँनेर जबर्जस्त रूपमा प्रायः उठिरहने एउटा प्रश्न के हो भने, के आखिर सम्पूर्ण सत्य यो मात्रै हो त ?

मोफसल शब्दको खास उत्पत्ति कहिले, कहाँ र कसबाट भयो भन्ने कुरा म अहिल्यै यकिनसाथ भन्न सक्दिनँ । र, यो लेखको मूल उद्देश्य त्यो शब्दको उत्पत्ति, उत्पत्तिस्थान र उत्पत्तिकर्ताको सम्बन्धमा बहस खडा गर्नु पनि होइन । यद्यपि, धूमिल सम्झनाका पदचापहरूलाई फर्किएर हेर्दा म किशोरावस्थादेखि नै मोफसल शब्द मेरो कानमा गुञ्जिरहेको पाउँछु । ति दिनहरूमा विशेषतः फिल्म हेर्ने बानीको घोडा सवार भएको थियो, टिगडिक–टिगडिक । छुट्टीको दिन आयो कि फिल्म हेर्न जाने निश्चित भइहाल्थ्यो । फिल्महलमा विद्यार्थीहरूलाई विशेष छूट हुन्छ भन्ने थाहा पाएपछि म लगायत मेरो समूहका प्रायः सबै साथीहरूले विद्यार्थीको फर्जी परिचयपत्र बनाएका थियौँ । त्यतिबेला समस्या के थियो भने, आफु पढेको विद्यालयमा परिचयपत्रको व्यवस्था थिएन । त्यसकारण छापाखानामा काम गर्ने र हामीलाई यो उपाय सुझाउने दाईहरूको सहयोगमा हामी अन्य विद्यालयको विद्यार्थी परिचयपत्र बनाउँथ्यौँ । त्यही परिचयपत्रको सहयोगले ‘स्टुडेण्ट कन्सेसन’मा टिकट काटेर हेरेका फिल्महरूको सूची पनि लामै हुन आउँछ बनाउने हो भने ।

किशोरावस्थामा हुर्किएको फिल्मप्रतिको त्यही मोहले डोर्‍याएर हामीलाई फिल्महलमा नयाँ फिल्म ‘रिलिज’ हुँदा प्रचार–प्रसारको लागि माइकको ठूलो आवाज सहित् आउने रिक्साको पछि–पछि दौडाउँथ्यो । त्यो रिक्साको ‘हुट’मा पछाडी फर्काएर झुण्ड्याइने माइकबाट निस्कने एउटा स्थायी अन्तरा प्रायः यस्तो हुन्थ्यो – “राजधानी लगायत ‘मोफसल’का विभिन्न हलहरूमा भव्यताका साथ चलिरहेको, पारिवारीक कथावस्तुमा आधारित चलचित्र ……, अब गणेश चित्र मन्दिरमा पनि !” त्यसरी रिक्साको पछाडी दौडदैँ गर्दा एकदिन माइकबाट निस्किएर मेरो कानमा जोडसित बज्रिएको एउटा शब्द थियो, ‘मोफसल’ ।

त्यो शब्दले मेरो कानमा त्यति जोडले ‘स्ट्रोक’ दिनुपछाडी एउटै कारण थियो । किनभने त्यो शब्द त्यतिबेला मेरो लागि बिल्कुलै नौलो थियो । घरमा नौलो मान्छे आउँदा बालकहरू अलिकति लजाएझैँ, अलिकति डराएझैँ, ठीक त्यस्तै अनुभूतिले किचिएको थिएँ म त्यतिबेला त्यो ‘मोफसल’ शब्दबाट । पछि विस्तारै कवितातर्फ आकर्षित भएँ । साहित्यिक रूची र प्यास विस्तारै बढ्दै थियो । फलस्वरूप जिल्लाका साहित्यिक कार्यक्रमहरूमा मेरो सक्रियता बढ्दै गयो । त्यसपछि भने ‘मोफसल’ शब्द र मेरो कानको ‘दोस्ती’ भयो । प्रायः प्रत्येकजसो साहित्यिक कार्यक्रममा वक्ताहरू मोफसलको कुरा गर्थे । कतिपयले आफु मोफसलमा बसेकै कारण पाएका दुःख र पीडाहरू पोख्थे । कतिपयको चर्को आक्रोश पनि सुनिन्थ्यो । तर, मैले ती कुराहरू कहिल्यै गम्भीर भएर सुनिनँ ।

अचेल पनि मान्छेहरू मोफसलको कुरा गर्छन् । तर, मलाई भने अहिलेसम्म पनि मोफसल शब्दको खास शाब्दिक अर्थ थाहा छैन । सुन्दै जाँदा कान अभ्यस्त भएर हुनसक्छ, यसको प्रयोग कुन प्रयोजनको लागि गरिन्छ भन्ने कुरा चाहिँ राम्रैसँग थाहा छ ।

वि.सं. ०६२/६३ को जनआन्दोलन पछि देशमा संविधानसभाको निर्वाचन भयो (भलै त्यो अहिले विघटित अवस्थामा छ) । गणतन्त्र पनि आयो । संघीयताका कुराहरू उठे । तर, राजधानी र मोफसलको जुहारी अझै सेलाएको छैन । यसको राजनीतिक विश्लेषण के हुन्छ होला भनि म कहिलेकाहिँ सोंच्ने गर्छु । हामीले राजधानी र मोफसलको बहसलाई अहिलेसम्म टुङ्ग्याउन नसक्नुको कारण के हो ? के त्यसोभए यो देशमा पछिल्लो समय उठेको संघीयताको मुद्दा नक्कली थियो ? के अब लागू गर्न खोजिएको संघीयताले यो बहसलाई एउटा टुङ्गोमा पुर्‍याउन सक्छ ? प्रश्नहरू यथावत छन् ।

यी प्रश्नहरूको ठोस उत्तर आउँदा–नआउँदै मोफसललाई भ्रम घोषणा गर्नु मेरो विचारमा एउटा बौद्धिक हतारो मात्रै हो । मान्छेहरूलाई यस्तो हतारो किन हुन्छ भन्ने म बुझ्दिनँ । तर, यस्ले आजसम्म मोफसल भनिएका राजधानी बाहिरका क्षेत्रमा बस्ने एउटा विद्घतवर्गलाई फेरी पनि ‘ह्युमिलेट’ गर्ने पक्का छ । र, यस्तो घोषणाले मात्रै मोफसलको ‘हाउगुजी’ समाप्त पार्न नसक्ने पनि पक्का–पक्की नै छ । यदि मोफसल भ्रम नै हो भने, नेपाली विद्घतवर्ग यति लामो समय किन त्यो भ्रममा बाँच्यो ? किन त्यसको चिरफार हुन सकेन ? प्रश्न यो शिराबाट पनि पक्कै उठ्नेछ ।

हुनत एक हिसाबले हेर्दा मोफसल एउटा मनोवैज्ञानिक त्रास मात्रै हो भन्न पनि सकिन्छ । मुख्य कुरो त सिर्जनात्मक शक्ति नै हो । शक्तिशाली सिर्जनाका धनीहरूलाई मोफसल नामको लक्ष्मणरेखाले कैद गर्न सक्दैन । नेपालमा यस्ता किसिमका धेरै उदाहरणहरू छन्, जो मोफसलमै बसेर पनि राष्ट्रियस्तरमा चर्चित छन् । यति हुँदाहुँदै पनि फेरी मोफसल शब्द एउटा यस्तो तीर भएको छ, जस्ले नवप्रवेशी र युवापिँढीका कवि/लेखकहरूलाई निशाना साँध्न सक्छ । राजधानीमा बसेर उस्तै सिर्जना गर्ने एउटा युवापुस्ताका लेखक र मोफसलमा बसेर उनकै हाराहारीमा सिर्जना गर्ने अर्को लेखकको समकक्षता निर्धारण गर्दा राजधानीवाद बेसी हावी भएको उदाहरणहरू पनि हामीसँग प्रशस्तै छ । यस्ता उदाहरणहरूले मोफसलमा हुनुको लघुताभाषलाई बढाउँछ । र अन्त्यमा यो राजधानीको लागि नै प्रत्यूत्पादक हुनसक्छ ।
-x-x-x-
*As published in “Chure Sandesh Weekly” (2069/07/12).

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)