‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

गजलकार विनोद अनुज
चितवनको गजल लेखनले चर्चा पाउन थालेको त्यति लामो समय भएको छैन । समग्र नेपालकै गजल लेखनको विकासक्रम हेर्दा पनि यसले आफुलाई आकर्षणको केन्द्रको रूपमा स्थापित गर्न थालेको समयावधी भनेको पछिल्लो अढाई/एक दशक यताको समयावधी नै हो । यद्यपी छोटै समयको अन्तरालमा गजल लेखन नेपाली साहित्यको केन्द्रमा स्थापित हुँदै गएको सत्यलाई भने अब कसैले पनि नकार्न सक्ने स्थिती छैन । त्यसमाथी गजल लेखनमा युवा सर्जकहरूको प्रवेशले त यो क्षेत्र दिनानुदिन उर्वर बन्दै गइरहेको देखिन्छ । 

युवा गजलकारहरूको त्यहि भीडमा मिसिएर आफ्नो सक्रिय उपस्थिती जनाउँदै आइरहेका एकजना शब्दशिल्पी सर्जक हुन् गजलकार विनोद अनुज । उनको परिचय अब गजल लेख्नेहरूको भीडमा पनि टाढैबाट चिनिन सक्ने गजलकारको रुपमा स्थापित हुने देखिन्छ । उनको पहिलो गजल संग्रह ‘एक झोंका हावा’मा संग्रहित ५६ वटा गजलहरूमध्येका अधिकांश गजलहरूले यहि कुराको संकेत गरेको छ । 

गजलकार अनुज चितवनको साहित्यिक माहोलमा विशेषगरी गजल लेखनकै लागि चिनिएको नाम हो । गजल लेखनमा लागेर उनले आफ्नो जीवनको उर्वर एक दशक समयको लगानी गरिसकेका छन् । एक रेडियोकर्मी र सूचना–प्रविधी व्यावसायीको रुपमा पनि उनको अर्को परिचय स्थापित छ । कविताबाट आफ्नो सिर्जनाकर्मको पाइला चाले पनि हाल उनले आफुलाई पूर्णतया गजलकै साँचोमा ढालिसकेका छन् । रेडियोमा गजलसम्बन्धी कार्यक्रमकै प्रस्तोता रहनु र गजलसँग सम्बन्धित रहेका चितवनका विभिन्न साहित्यिक संघ/संस्थाहरूमा रहेको संलग्नताले पनि उनको क्रियाशील गजलकारितालाई पुष्टि गर्दछ । त्यो क्रियाशीलताको स्वाद उनका गजलहरूमा पनि पाइन्छ । उदाहरणको लागि सोहि संग्रहमा संग्रहित एउटा गजलको दुई शेर हेरौं:

व्यथाहरू सँगाले त म नी हुन्छु किताब जस्तो 
अलिअलि इतिहास, अलिअलि हिसाब जस्तो 

युगौं देखि एउटै बोटमा फुलसँग बस्दा पनि 
सकेनन् खै काँडाहरू बन्न कहिल्यै गुलाब जस्तो 

यस संग्रहमा अनुजले विभिन्न समय र परिवेशमा लेखिएका विविध भावका गजलहरूलाई संग्रहित गरेका छन् । देशप्रेम, मातृप्रेम, वर्तमान विसङ्गतिप्रति तीव्रविरोध र समयको विद्रुप बिम्बमाथीको प्रहारले उनका गजलहरूलाई गजलका ‘क्लासिक’ व्याख्याताहरूले दिने परिभाषाको रूढबाट बाहिर निकालेको छ । त्यसो त ती व्याख्याताहरूले लगाउने अर्को रटान भनेको बहर/छन्दको रटान पनि हो । अनुजका कतिपय गजलहरू यो रटानभित्र पनि बाँधिन नचाहेको देखिन्छ । त्यसैले लोकलय र स्वनिर्मित लयमा लेखिएका गजलहरू पनि उनले यो संग्रहमा राखेका छन् । सर्सती पढ्दा पनि लोकलयको सुगन्ध भेटिने उनको एउटा गजल यस्तो छः  

बिर्सेर माटो सुनौलो हाम्रो बसेछस् के गरी 
यो धर्ती तँलाई सम्झेर सधैं रुँदछे बेसरी 

बाँसुरी बज्दा साँझको बेला यो भीर पाखामा 
तेरो गजलको झझल्को दिंदै गाउँछे वनचरी 

गाउन्न कोइली मन गयो वैली बाग छ विरानो 
तँ बिना यहाँ खेल्दैनन् ऐले भमरा मञ्जरी 

बतिलो छँदै सुटुक्क टिपी लुकेर खाएको 
सम्झन्छे तेरी आमाले जब चिर्दछे काँकरी 

विनोद अनुजको यो गजल संग्रह पढेर सिध्याउँदा सम्म उनका गजलहरूले कतै पनि बिझाए जस्तो लाग्दैन । उनको गजलको सबैभन्दा ठूलो विशेषता भनेको अभिव्यक्तिमा रहेको कोमलता नै हो । रुखो र जर्रो शब्दहरू उनका गजलहरूमा कतै पनि भेटिदैंन । उनका गजलहरू कठोर विषयमा पनि कोमल अभिव्यक्ति दिन माहिर देखिन्छन् । यद्यपी यति हुँदा-हुँदै पनि यो संग्रहमा उनका केहि कमसल किसिमका गजलहरू पनि परेको छ । अभिव्यक्तिमा रहेको कोमलताका बाबजूद ती गजलहरूको लेखन–प्रस्तुती अत्यन्तै फितलो देखिन्छ । सायद उनले ती गजलहरू सुरुवाती लेखनको अन्तिम–अन्तिम ताकातिर लेखेको हुनुपर्छ । तर संग्रहको लागि छनोट गर्दा उनले ती गजलहरूमाथी कैंची चलाउन सकेनन् । त्यस्तै संग्रहमा राखिएका विभिन्न व्यक्ति/संस्थाहरूको शुभकामना मन्तव्य तथा भूमिका त्यहाँ राखिएको नभई थोपरिएको जस्तो प्रतीत हुन्छ । राख्नको लागि राखिएका भूमिका र शुभकामना मन्तव्यहरूले किताबको मोटाई त बढाउँछ तर कृतिको मूल्यवत्तालाई कमजोर पार्छ भन्नेतर्फ गजलकारले ध्यान दिन सकेका छैनन् । तर जे भए पनि गजलकार विनोद अनजुले ‘एक झोंका हावा’ लिएर आएका छन् । हावाको झोंकाले ल्याउने भनेको सुगन्ध हो, फैलाउने भनेको शीतलता हो । बबण्डर मच्चाउँदै पातपतिङ्गर थोपर्ने र धुलोमैलोलाई उडाएर ल्याउने काम त आँधी र तुफानले मात्र गर्छ । त्यो काम हावाको झोंकाले गर्दैन ।

समग्रमा हेर्दा अनुजको ‘एक झोंका हावा’ले पनि सुगन्ध नै बोकेर ल्याएको महशुस गर्न सकिन्छ । एकताका ‘गजलको बाढी’ आएको चितवनको माटोमा विनोद अनुजले थप बाढी ल्याउने काम गरेको देखिदैंन । किनकी उनका गजलहरू संयमित देखिन्छन् । शिष्ट देखिन्छन् र भद्र देखिन्छन् । माथी उल्लेख गरिएका कमजोर पक्षहरूमाथी विचार पुर्‍याउँदै अघि बढ्ने हो भने गजलकार विनोद अनुजको साहित्यिक भविष्य उज्ज्वल हुने कुरामा भने कुनै द्विविधा पालिराख्नु पर्दैन । अन्त्यमा गजलकार अनुजकै गजलको एक शेर सापटी लिएर उनलाई शुभकामना दिन चाहन्छुः  

तिमी घण्ट बजाउन अझै जारी राख साथी 
मन्दिरभित्र भगवान निदाउला कहिलेसम्म ? 

*As published in Naya Patrika National Daily (2068/02/28)

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)