ठूलो मान्छे (निबन्ध)

मलाई ठूलो मान्छे बन्न मन लाग्छ । सानोमा हजुरबुवाले आशिर्वाद दिनुहुदा ठूलो मान्छे बनेस् भन्नुहुन्थ्यो । सायद त्यसैले पनि हो कि मलाई ठूलो मान्छे बन्न मन लागेको । के भनिन्छ भने बाल्यकालमा जुन कुराको गहिरो छाप पर्छ त्यो छापले मान्छेलाई जीवनभरी पछ्याउँछ रे ! मलाई पनि सानोमा हजुरबुवाबाट पाएको आशिर्वादको त्यस्तै छाप परेको हुनुपर्छ ।

हजुरबुवाले ठूलो मान्छे बनेस् भनेर आशिर्वाद त दिनुभयो, तर ठूलो मान्छे कसरी बन्ने भन्ने कुरा नबताइकनै जानुभयो । सायद त्यसैले अहिले मलाई ठूलो मान्छे बन्नको लागि समस्या पैदा भएको हुनसक्छ । हजुरबुवाले मलाई ठूलो मान्छे बनेस् भनेर आशिर्वाद दिनुको कारण के हो ? मलाई के लाग्छ भने मान्छेले आफ्नो जीवनकालभरी पूरा हुन नसकेका रहर र सपनाहरू आफ्ना सन्तानहरूमा आरोपित गर्न चाहन्छन् । त्यसैले मेरो हजुरबुवाले पनि आफू ठूलो मान्छे बन्नको लागी गरेका प्रयत्न र प्रयासहरू खेर गएकै कारण आफ्ना रहर र सपनाहरू म माथी आरोपित गर्नुभएको हो कि ! त्यसो भए के वहाँ ठूलो मान्छे हुनुहुन्थेन ? होइन, मेरो लागि त वहाँ सधैं ठूलै मान्छे हुनुहुन्थ्यो ।

अचेल हजुरबुवा हुनुहुन्न, घरतिरको पनि मावलीतिरको पनि । हजुरबुवा नभएपनि आशीर्वाद पाउने सिलसिलामा कुनै गतिरोध उत्पन्न भएको छैन । टीका लगाइदिदैं गर्दा बुवाआमाहरू पनि आशीर्वाद दिनुहुन्छ । वहाँहरुले दिने आशीर्वादको मुख्य भाव पनि ठूलो मान्छे बनोस् भन्ने नै हुन्छ । आशीर्वाद पाइसकेपछि म सोंच्ने गर्छु । आखिर ठूलो मान्छे बन्ने भनेको के हो ? म पहिले के सोंच्थे भने ठूलो मान्छे बन्ने भनेको हजुरबुवा/हजुरआमा, बुवा/आमा, काका/काकी, मामा/माइजूहरूको उचाई बराबर हुनु हो । यस दृष्टिले हेर्दा त म अहिले वहाँहरूको उचाई बराबर भइसकेको छु । यसअर्थमा यतिबेलासम्म त मलाई ठूलो मान्छे घोषणा गरिसक्नुपर्ने हो । तर अझै पनि टीका लगाउन बस्दा वहाँहरू त्यहि प्रकृतिको आशीर्वाद दिनुहुन्छ । यसले मलाई आफु ठूलो मान्छे हुनसकेछु भन्ने कत्ति लाग्दैन । साथसाथै ठूलो मान्छे हुनु भनेको उचाईमा मात्रै ठूलो हुनु हो रहेछ भन्ने पनि लाग्दैन ।

कहिलेकाँही साथीहरू मलाई ‘तँ त ठूलो मान्छे भएछस्’ भनिदिन्छन् । यस्तो बेला साथीहरूको अगाडी नै सहि, ठूलो मान्छे भएछु भन्ने लाग्छ । कारण थाहा पाउनलाई ‘म कसरी ठूलो भएँ ?’ भन्ने प्रश्न तेस्र्याउँछु । जवाफमा साथीहरू भनेको नमान्नु, भेट नहुनु, बाटोमा देखे पनि नदेखेझैं गरेर हिंड्नु लगायतका आरोपहरू लगाउँछन् । यदि यस्तो गर्दैमा ठूलो मान्छे भइने भए म सधैं यस्तै गर्न तयार छु तर मलाई थाहा छ यस्तो गर्दा ठूलो मान्छे भइन्न । पहिलो, साथी हो भन्दैमा साथीले भनेको सबै मान्नुपर्छ भन्ने छैन । दोस्रो, भेट हुनलाई संयोग सधैं नजुर्न सक्छ । तेस्रो, बाटोमा हिँड्दा ध्यान सधैं मान्छेहरूमाथी मात्र केन्द्रित गर्नुपर्छ भन्ने पनि छैन । यसअर्थमा ‘तँ त ठूलो मान्छे भएछस्’ भनेर साथीहरूले मलाई व्यङ्ग्य कस्नुको कारण के ? सायद रमाइलो गर्न खोज्या होला ।

त्यसो त मलाई पनि कहिलेकाँहि साथीहरूसँग रमाइलो गर्न मन लाग्छ । रमाइलो गर्न बस्दा म साथीहरूलाई अक्सर अन्य नामले पुकार्छु । मेरो एकजना साथी छ जस्लाई म ‘ठूलो मान्छे’ नामले नै पुकार्छु । तसर्थ यहाँ उसको चर्चामा केहि समय खर्चिनु नाजायज नहोला । उस्लाई ठूलो मान्छे भन्नुमा मसँग केहि तर्कहरू छन् । एउटा तर्क के छ भने वास्तवमा ऊ ठूलो मान्छे नै होइन, त्यसैले म उसलाई ठूलो मान्छे भन्न रुचाउँछु । जो जे होइन त्यसलाई त्यो भन्नुको मज्जा अर्कै छ । यदि ऊ वास्तवमै ठूलो मान्छे भएको भए म उसलाई ‘सानो मान्छे’ भनेर पुकार्न पनि सक्थें । तर यथार्थमा ऊ न ठूलो मान्छे हो न सानो मान्छे हो । असल कुरो गर्नुपर्दा ऊ मेरै काँटछाँटको मान्छे हो । हामी दुवैले सपनाहरू देखेका छौं तर पुरा गर्न सकिराखेका छैनौं । प्रयत्न पनि गरेका थियौं तर असफल भएका छौं । उस्ले र मैले देखेका सपनाहरू भलै फरक थिए होलान् तर ‘होलसेल’मा आखिर सपना त सपना नै हो नी । त्यसैले अचेल हामी दुईजना सपनाको धज्जी उडाउन लागिपरेका छौं । कुराकानीको सिलसिलामा उसलाई दुई/तीन दिन भेट हुन नसक्नुको कारण सोध्यो भने ऊ अष्ट्रेलियातिर बिदा मनाउन गएको कुरा गर्छ । उसले मलाई सोध्यो भने म न्यूयोर्कसिटीमा ‘मिटिङ्ग एटेण्ड’ गरेर आएको कुरा बताउँछु । पैसाको कुरा ग¥यो भने ऊ पन्ध्र/बिस लाख रुपैयाँ त मोबाइलबाटै ‘ट्रान्सफर’ गरिदिने कुरा गर्छ । म भने मासिक आम्दानी धेरै देखिएकोले ‘इन्कम ट्याक्स’ले दुःख दिएको गुनासो पोख्छु । अरे बाबा ! ठूलो मान्छे बन्न नसके पनि ठूलो कुरा गर्न त पाइन्छ नी, होइन ?

दुनियाँमा ठूला कहलाइएका अधिकांश मान्छेहरू पद, पैसा र ‘पावर’को जगमा ठूला भएका छन् । पदमा हुनेहरू पैसा कमाउँछन् । पदको शक्ति र पैसाको शक्ति ‘फ्यूजन’ भएपछि उनिहरू महाशक्ति बन्छन् । यस दृष्टिले हेर्दा म आफुलाई निकै दयनीय स्थितीमा पाउँछु । म ठूलो मान्छे बन्न सक्ने कुनै सम्भावना नै छैन कि जस्तो पनि लाग्छ । किनकी म अहिलेसम्म कुनै ठूलो पदमा पुग्न सकेको छैन । त्यसैले पैसा कमाउन सक्ने कुनै आधार नै भएन । पद र पैसा नभएपछि म कसरी शक्तिशाली ठूलो मान्छे बन्न सक्छु ? दुनियाँ ठूलो मान्छेको पछाडी दौडिन्छ । त्यसैले मेरो पछाडी दौडिने कोहि पनि छैन । एकजना थिई मेरो पछाडी दौडिनलाई तर ऊ पनि अचेल अर्कैको पछाडी दौडिन्छ । सायद म ठुलो मान्छे बन्न नसकेरै होला यस्तो भएको ।

मेरा एक/दुईजना साथीहरू छन् पैसा कमाएका । म कहिलेकाँहि उनिहरूसँग ठूलो मान्छे कसरी बन्ने भन्ने विषयमा सरसल्लाह गर्न जान्छु । कुरा गर्दै जाँदा उनिहरू पैसा कसरी कमाउने भन्ने कुराको मात्रै जिम्मा लिन चाहन्छन् यद्यपी ठूलो मान्छे कसरी बन्ने भन्ने कुराको जिम्मा लिन चाहँदैनन् । उनिहरूको एउटा सिद्धान्त ‘एनी हाऊ, पैसा कमाऊ !’ भन्ने हो । उनीहरू जाती छन् । त्यसैले यसरी पैसा कमाउँदा कहिलेकाँहि ‘मामाघर’ जानुपर्छ भन्ने कुरातर्फ पनि उनिहरू मलाई सचेत गराउँछन् । यद्यपी मेरो समस्या के छ भने मलाई यसरी पैसा कमाउन मन लाग्दैन । म ठूलो मान्छे बन्न नसक्नुको अर्को एउटा कारण यो पनि हुनसक्छ ।

मैले भनिसकें मलाई ठूलो मान्छे बन्नु छ, तर जति गरे पनि म ठूलो मान्छे बन्न सकिराखेको छैन । मान्छे आफुले चाहेको कुरा पुरा गर्न नसकेपछि कवि बन्छ भन्छन् । म पनि कहिलेकाँहि कविता लेख्छु । मान्छे भनेजस्तो नभएपछि आदर्शवादी पनि बन्न पुग्छ भन्छन् । म पनि अचेल आदर्शवादी कुराहरू मात्रै सोंच्न थालेको छु । मान्छे किन ठूलो मान्छे हुनपर्छ ? मान्छे के मान्छेमात्र भए पुग्दैन ? मलाई अचेल यस्तै प्रश्नहरूले बढी सताउँछ ।
-x-x-x-

Comments

Popular posts from this blog

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)