तिमीलाई सम्झिनुको कारण (कविता)

तिमीलाई सम्झिनुको 
विशेष कारणहरू छैन मसँग ।
अग्ला–अग्ला हिमालहरू देखेपनि तिमीलाई सम्झिन्छु गहिरा–गहिरा खोंचहरू देखेपनि तिमीलाई सम्झिन्छु जंगलका लहराहरू देखें भने त्यो तिम्रो केशराशी जस्तै लाग्छ निला–निला दह देखें भने त्यो तिम्रो आँखाको गहिराई जस्तै लाग्छ बगिरहने नदीको गुञ्जन सुनें भने त्यो तिम्रो आवाज जस्तै लाग्छ उफ्फ ! तिमीलाई सम्झाउनको लागि सारा प्रकृतिले नै किन पैंचो मागेको होला सुन्दरता तिमीसँग ? हाँस्नुको कारण सोधियो भने कुनै बालकसँग बग्नुको कारण सोधियो भने कुनै नदीसँग उड्नुको कारण सोधियो भने कुनै चरासँग ठडिनुको कारण सोधियो भने कुनै रुखसँग र सम्झिनुको कारण सोधियो भने कुनै प्रेमीसँग सोध्नेहरूले के उत्तर पाउँछन् होला त्यस प्रश्नको ? हो बरु बिनाकारण हाँस्ने मान्छेलाई बिनाकारण रुने मान्छेलाई पागल भनिएझैं मलाई पनि पागल भनियोस् या त कुनै प्रेमी भनियोस् यद्यपी म चाहन्छु नसोधोस् कसैले मसँग तिमीलाई सम्झिनुको कारण । तिमीलाई सम्झिनुको विशेष कारणहरू छैन मसँग ।
-x-x-x- 

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)