कलाले सधैं मानवीय विचारको मात्रै संरक्षण गर्दैन– भूपिन (स्रष्टा संवाद)
नेपाली कविता र निबन्धका क्षेत्रमा पछिल्लो समय निकै आशा र विश्वासका साथ लिइने नाम हो– भूपिन । पचासको दशकपछि सचेततापूर्वक काव्य तथा निबन्धको साधना गर्दै आएका भूपिनको ‘चौबिस रिल’ निबन्ध सङ्ग्रहले वि.सं. २०६९ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ । हाल चितवनमा बसेर साहित्य साधना गर्ने यिनै चर्चित कवि तथा निबन्धकार भूपिन सँग अक्षय अक्षर का निम्ति सहकर्मी सुमनराज श्रेष्ठ ले गर्नुभएको कुराकानी तल प्रस्तुत गरिएको छः (सम्पा.) । भूपिन साहित्यमा कहिलेदेखि लाग्नुभयो ? लेखनका सुरुवाती दिनहरूलाई कसरी सम्झिनु हुन्छ ? -विद्यालय अध्ययनको लगभग मध्यकालदेखि नै लेखनप्रति लगाव बढेको हो मेरो । बाबियोको डोरी बाट्न मेरो घरमा जम्मा भएका प्रियजननीहरूलाई मेरी आमाले सुनाउनु भएका लोककथाहरू, स्कुलमा सरहरूले सुनाएका कोर्सका कविता र व्याख्याहरू, लाहुरे दाइहरूको लागि मैले लेखिदिनु पर्ने चिठ्ठीहरू, प्रकृति र गाउँको दुखिया जीवनले मलाई लेख्न प्रेरित गर्यो । मनमस्तिष्कमा अटेसमटेस भई बसेका यावत कुराहरूको तनाव झेल्न र अलिकति नाम कमाउने लोभमा मैले लेख्न थालेको हुँ । लेखेपछि मनोवैज्ञानिक शान्ति मिल्थ्यो । मन...