हालखबर (निबन्ध)

प्रायः साथीभाईहरूसँग भेटघाट हुँदा हालखबर सोध्ने गरिन्छ । त्यसो त ईष्टमित्र, नातागोता, आफन्ती, छरछिमेकीसँग पनि नसोधिने होइन । मेरो विचारमा हालखबर को–कोसँग सोधिन्छ भन्दा पनि हालखबर किन सोधिन्छ भन्ने कुराले बढी महत्व राख्छ जस्तो लाग्छ । त्यसो त हालखबर सोधे पनि नसोधे पनि मान्छेलाई केहि फरक पर्दैन । उदाहरणको लागी भन्नुपर्दा हामी बाटोमा हिँड्दा कयौं मान्छेहरूलाई देख्छौं तर हामी तिनिहरूको हालखबर सोध्दैनौं । हामीले हालखबर नसोधेपनि तिनीहरूलाई केहि फरक पर्दैन । तिनीहरू आफ्नै सुरले हिँडिरहन्छन्, दौडिरहन्छन् । गन्तव्यमा पुग्छन् कि पुग्दैनन् त्यो मलाई थाहा छैन । अथवा यो पनि हुनसक्छ की तिनिहरूको पनि हालखबर सोध्ने अरु नै मान्छेहरू छन् । हामीलाई थाहा नभएको हुनसक्छ ।

मलाई लाग्छ यो दुनियाँ अलिकति अनौपचारिकता र धेरै औपचारिकता खोज्छ । त्यसैले होला प्रायशः हालखबर सोध्ने गरिन्छ । म त्यति धेरै औपचारिकता निभाउन जान्दिनँ । तैपनि मलाई साथीहरू भेट हुँदा हालखबर सोध्न मन लाग्छ । सायद मनैबाट आउने कुरा भनेको यस्तै हुन्छ होला । मलाई पनि धेरैले हालखबर सोध्ने गर्छन् । ‘मनको बह, कसैलाई नकह’ भन्ने एउटा उक्ति छ । त्यसैले मेरो हालखबर बेठिकै भए पनि म उनिहरूलाई औपचारिकताको लागि ठिकै छ भनिदिन्छु । मलाई अलि नजिकबाट चिने/बुझेका साथीहरूले हालखबर सोधेका रहेछन् भने म उनिहरूलाई ‘चलेको छ जीन्दगी’ भनिदिन्छु । बश् उनिहरू कुरा बुझ्छन्, यस्को ‘ह्याङ्गओभर’ अझै उत्रेको रहेनछ भन्ने पनि सोंच्छन् होला सायद । उनिहरूले सोंचेको कुरा सुन्न म असमर्थ छु ।

ती साथीहरूले हालखबर सोध्दा ‘चलेको छ जीन्दगी’ भन्नुमा मेरो एउटा कारण छ । त्यो मैले नै लेखेको एउटा मुक्तकसँग सम्बन्धित छ । वास्तवमा यो निबन्ध लेखिनुको मुख्य कारण पनि यहि मुक्तक नै हो । मलाई यो मुक्तक निकै मनपर्छ, तपाँईलाई मनपर्छ/मनपर्दैन थाहा छैन । तैपनि यहाँ प्रस्तुत गर्न चाहन्छुः

          बेहोशीमै उठ्छ कहिले, कहिले ढलेको छ जीन्दगी ।
          रुनु न हाँस्नुको दोधारमा जलेको छ जीन्दगी ।
          कुरा अर्कै हुन्थ्यो होला साथमा तिमी हुन्थ्यौ भने,
          तर तिमी नभएर पनि चलेको छ जीन्दगी ।।

असलमा यो मुक्तक मलाई निकै मनपरेको मुक्तक हो । बेलुकीको चियापसलमा यस्ले साथीहरूको निकै तारिफ पनि पाएको छ । यद्यपी मनपर्नुमा सम्पूर्ण कारण भने यो मात्रै होइन । त्यसो त म बिहानको चिया पिउन त्यति मनपराउँदिनँ । पकेटले साथ दिएर साथीहरूको जमघट र कार्यक्रम बनेछ भने बेलुकीको चिया पिउनु मेरो रुचीको विषय हो । मेरो यो रुचीमा साथ दिने प्रायः साथीहरू साहित्यकभन्दा पनि असाहित्यक बढी छन् । त्यसैले मेरो मुक्तक सुन्नमा उनिहरू त्यति रुची राख्दैनन् । तैपनि जोशको बेलामा होश नहुने भएर होला म सुनाइदिन्छु । कहिलेकाँहि भने राम्रै ‘फर्माइश’ पनि आउने गर्छ । त्यस्तो बेलामा खुशी लाग्छ ।

अब मुक्तकपट्टी नै लागौं क्यार । यो मुक्तकको गर्भपीडा के हो भन्ने कुरा यो मुक्तकमै खुलस्त भएको छ । म त्यतापट्टी जान चाहन्नँ । तथापी यो उनि गएपछि लेखिएको मुक्तक हो कि उनि नजादैँ लेखिएको मुक्तक हो भन्ने कुरामा मैले यकिन गर्न सकिराखेको छैन । किनकी तपाँईहरूलाई थाहै छ, भावनामा उड्नेहरू जहाँ पनि पुग्न सक्छन् । त्यसैले मैले यो मुक्तक अनुभवमा पर्नुअघि भावनामा उडेर लेखेको हो कि अनुभवमा परेपछि पीडामा डुबेर लेखेको हो भन्ने कुरा खुट्याउन सकेको छैन । ‘नोटबुक’मा सार्नुअघि सिरानमा दिनाङ्क लेख्न बिर्सिएछु । नत्र ठ्याक्कै भनिदिन्थें ।

सानो कुरा बिर्सदाँ मान्छे जीवनभरी कति दिग्भ्रमित भएर बाँच्नुपर्दो रहेछ भन्ने कुराको उदाहरण हो यो । त्यसो त मेरो विचारमा बिर्सनु पनि एउटा कला हो । बिर्सदाँ कहिलेकाहिँ दिग्भ्रमित् भइन्छ होला, तर बिर्सेपछिको सुख अर्कै छ । मान्छेलाई त बिर्सेका कुराले भन्दा बढी बिर्सन नसकिएका कुराहरूले पो धेरै पोल्छन् त । यहि बिर्सन नसकिएका कुराहरूको विषयमा मैले एउटा कविता पनि लेखेको थिएँ । त्यसको शीर्षक ‘यादहरूको अम्मल’ दिएको छु । यद्यपी तपाँईहरू नडराउनुहोस्, किनकी त्यो कविता म यहाँ प्रस्तुत गर्दिनँ । माथी नै एउटा मुक्तक सुनाइसकें । मलाई थाहा छ, साहित्य सुन्ने/पढ्ने संस्कार राम्रोसँग विकसित नभएको देशमा कविता पढ्नुभन्दा ‘बोरिङ्ग’ बिषय अरु हुनै सक्दैन । म तपाँईहरूलाई यो भन्दा बढि ‘बोर’ गर्न चाहन्नँ । बरु जाँगर चलेछ भने यहि प्रसङ्गमा फेरी अर्को एउटा निबन्ध लेखुँला ।

कुरा गर्दागर्दै यहाँ बिषयले तीन घुम्ती पार गरिसकेछ । अब ‘क्लाइमेक्स’तर्फ अघि बढ्नु नै उचित होला सायद । मैले विषय हालखबर दिएको थिएँ, प्रसङ्ग भने मुक्तकतर्फ मोडियो । हुनत भन्न खोजेको कुरा बुझाउन प्रसङ्ग अत्यावश्यक रहन्छ नै । म भन्दै थिएँ कि हालखबर किन सोधिन्छ भनेर । उत्तर बताउनुपर्दा सर्वप्रथम त हालखबर हालखबर नै थाहा पाउनको लागी सोधिन्छ । अचेल हालखबर थाहा पाउने विषय औपचारिकतासँग जोडिन पुगेको छ । त्यसैले अचेल औपचारिकता पूरा गर्नको लागी ज्यादा हालखबर सोध्ने गरिन्छ । कुनै चिनेको मान्छे अचानक भेट हुँदा कुराकानीको सिलसिला सुरु गर्न पनि हालखबर सोध्ने गरिन्छ । अक्सर जनजीवनमा सोधिराखिने हालखबरको हालखबर भने सधैं कुशलमंगलमा पुगेर टुङ्गिदैंन । त्यसैले राम्रो हालखबर सुन्ने चाहना छ भने निकै विचार पुर्याएर, जस्को हालखबर थाहा पाउन खोजिएको हो उस्को मनोदशा र मनोविज्ञान बुझेर मात्र हालखबर सोध्नु उचित हुन्छ । मलाई पनि अरुको राम्रो हालखबर सुन्न मन लाग्छ । त्यसैले म विचार पुर्याएर मात्र हालखबर सोध्ने गर्छु । सबैभन्दा धेरै त म यो देशको हालखबर सोध्ने बेलामा विचार पुर्‍याउँछु ।
-x-x-x-

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)