बस नम्बर ३६४७ र केहि गफगाफ (निबन्ध)

‘बस नं. ३६४७, हरियो कलर, छिट्टै आउनु ।’

घरबाट निस्कदैं थिएँ । भूपिन दाई (कवि भूपिन व्याकुल)को एस.एम.एस. आइपुग्यो । जानु थियो गोरखासम्म । साहित्य संगम, गोरखाको आयोजनामा १९८ औं भानु जयन्ती विषेश साहित्यिक कार्यक्रम हुँदै थियो असार २९ गते । अघिल्लो दिन २८ गते दिउँसो ३ बजे हामी दुई भाई निस्कियौं त्यहि ३६४७ नम्बरको बसमा गोरखाको लागि ।

साहित्यिक यात्रामा साहित्यिक गफगाफ भई नै हाल्छ । बाटोभरी हामीले त्यस्तै गफ गर्‍यौं र यात्रालाई निकै छोटो समयासीमा भित्र खुम्च्याईदियौं । यात्रामा सहयात्री भएन भने यात्रा लामो लाग्ने गर्दछ । सहयात्री छेवैमा भएर पनि अन्तरंग कुराकानी हुन सकेन भने त्यो यात्रा झनै लामो हुने गर्दछ । हामीलाई त्यस्तो यात्रा स्वीकार्य थिएन ।

बसभित्र बजेको चर्को संगीतले बेला–बेलामा कान टट्याउँथ्यो । संगीतले त यात्रालाई सहज बनाउनुपर्ने हो । प्रेमको सुमधुर धुन मिसिन नसकेको संगीतमा कुण्ठाको चर्को अभिव्यक्ति मात्र प्रकट भइरहेको थियो । “ड्राइभर दाई मन पर्यो मलाई…” र “…अर्कैले सिन्दुर हालेको” जस्ता गीतले प्रेमको ओजभन्दा कुण्ठाको भावनालाई बढी अभिव्यक्त गर्दछ । त्यसैमा झन् संगीत मिसियो भने त्यो भन्दा बढि बोझिलो के होला ? बोझलाई कम गर्न हामीले गीतको ‘भोल्यूम’ घटाउन ड्राइभरलाई बारम्बार ताकेता गरिह्यौं ।

गोरखा पुग्दा साँझको ६ बजिसकेको थियो । बास बस्ने होटल ‘बिसौनी’मा साहित्य संगम, गोरखाका पदाधिकारीहरू भेटिनुभयो । संगमका अध्यक्ष अनन्त मुस्कान आफ्नो गम्भीर मुस्कान सहित् हात मिलाउन आइपुग्नु भयो । परिचयको छोटो र औपचारिक श्रृंखला पश्चात नै हाम्रो गफ पुनः साहित्यिक विषयवस्तु, चासो, चिन्ता र सवालहरूतर्फ नै केन्द्रित हुँदै गयो ।

गोरखाको साहित्यिक लेखनमा विशेषतः नयाँ पुस्ता भित्रिन नसकेकोमा वहाँहरूको मुख्य चिन्ता प्रकट भइरहेको थियो । हामीले त्यसलाई चासोका साथ सुनिरह्यौं । साहित्य किन नयाँ पुस्ताको लागि रुचीको विषय बन्न सकेन ? त्यो पुस्तालाई साहित्य लेखनमा रुची जगाउन त्यहाँका स्थानीय साहित्यिक संघ/संस्थाहरूले कस्तो गतिविधी गर्दैछन् ? आदि विषयमा हामीले पनि आफ्ना जिज्ञासाहरू राख्यौं ।

जीवनमा हरेक मान्छे एकचोटी प्रेमी र कवि दुवै एकैसाथ बन्छ । मनमा उठेका आफ्ना यावत् भावनाहरूलाई ऊ शब्दमा उतार्न इच्छुक पनि बन्छ । तर उस्ले त्यो ईच्छालाई किन जीवन्त बनाइराख्न सक्दैन ? किन उसका शब्दहरू केवल सम्झना पुस्तिका (अटो)को झ्यालखानामा बन्दी बन्न पुग्दछ ? वास्तवमा यसको मूल गाँठो हामी बाँचिरहेको समाजको पिँधमा दबेर बसेको छ भन्ने मलाई लागिरहन्छ ।

बौद्धिकता हाम्रो समाजको लागि अझै त्यति प्रिय विषय हुन सकेको छैन । समाजमा बौद्धिकहरूको भन्दा बौद्धिक–अपाङ्ग र धनाढ्य/नवधनाढ्यहरूको बोलवाला चर्को छ । उनीहरूको शान, शौकत र रवाफले हामीहरू बारम्बार प्रभावित भइरहन्छौं । साहित्य लेखेर के हुन्छ ? साहित्य किन लेख्ने ? साहित्य लेखेर हामीले के पाउँछौं ? यस्ता प्रश्नहरूको अन्तर्यमा बारम्बार त्यहि आर्थिक कुण्ठा प्रकट भइरहने गर्दछ ।

कलाकार, साहित्यकारहरूलाई देशको गहना भनेर राज्यको पूरानो सन्दुकभित्र थन्क्याउने शाषक मस्तिष्कहरूले नै यो देशको बौद्धिक उन्नयनमा भाँजो हालिरहेका छन् । हाम्रो समाज त्यहि विचलनबाट प्रताडित छ । प्रताडनाको त्यहि कोपभाजनमा परेर साहित्य लेखनमा रुची राख्ने नयाँ पुस्ता बारम्बार वैचारिक दुर्घटनाको शिकार बन्दछ । फलस्वरूप उस्ले आर्थिक उन्नतीलाई नै आफ्नो सर्वोच्च प्राप्ती ठान्न पुग्छ र यो देशको बौद्धिकता फेरी २० वर्ष पछाडी धकेलिन्छ । यस्तै–यस्तै श्रृंखलाहरू जोडिएर यो देशको बौद्धिक, साहित्यिक र प्राज्ञिक विकास कति हजार वर्ष पछाडी धकेलिएको होला ? यसै अनुमान गर्नु कठीन छ ।

यस्तै पछौटेपनको एउटा उदाहरण भोलिपल्ट कार्यक्रमको पूर्वसन्ध्यामा देखियो । होटल बिसौनीको प्राङ्गणमा बसेर चियागफसँगै पत्रिका हेर्दै थियौं । त्यहिँका स्थानीय दैनिक पत्रिकाहरू पनि आइपुगेका थिए । मैले वल्टाई–पल्टाई ती सबै पत्रिकाहरू हेरें । तर त्यहाँ कहिँ पनि साहित्य संगमले गर्न लागेको कार्यक्रमको बारेमा कुनै समाचार छापिएको थिएन । पत्रिका राजनीतिक समाचार र व्यावसायीक विज्ञापनले भरिएका थिए । सबैभन्दा दुःखको कुरा त अझ ‘दरौंदी’ नामक एक दैनिकका सम्पादक स्वयं नै आयोजक संस्थाका महत्वपूर्ण पदका पदाधिकारी थिए ।

काठमाण्डौंबाट आउनुभएका प्रकाश सायमी, किशोर पहाडी र नरेन्द्रबहादुर श्रेष्ठको एउटा सानो टोली थियो । हामी वहाँहरूसँगै गोरखाकालिका उक्लेर झरिसकेका थियौं । होटलमा बस्दै गर्दा चितवनबाट आउनेमा पुष्प अधिकारी ‘अञ्जली’ र प्रभाकर पण्डित पनि थपिनुभयो । कार्यक्रम अवधीभरी गोरखामा नयाँ पुस्ता साहित्य लेखनमा सक्रिय नरहेको झलक कहिँ पनि देखिएन । कविता र गजल प्रतियोगिता एउटै मञ्चबाट सञ्चालित भइरहेको थियो । प्रतियोगितामा उनिहरूको उत्साहजनक सहभागीता थियो । सबैभन्दा उत्साहजनक सहभागीता त अझ नारी स्रष्टाहरूको देखिन्थ्यो । कार्यक्रम लगातार सात घण्टासम्म अविरल बगिरह्यो । हामी बाहिरबाट गएका अतिथीहरूले किनारा देख्ने मौकासम्म पाएनौं ।

मसँग पनि साहित्यमा लागेकैले भोग्नुपरेको आर्थिक–सामाजिक–वैचारिक कोपभाजन र दुर्घटनाका अनेकन् अनुभूतिहरू छन् । दुर्घटना पश्चात् म अर्थहरू भित्र मात्रै समेटिन्छु । अर्थहरूभित्र मात्र समेटिदाँ जीवन बेअर्थ भइदिन्छ । एकांकी जस्तो लाग्दछ । एकांकीहरूलाई रंगमञ्च नभए पनि हुन्छ । यसरी म बारम्बार जीवनको रंगमञ्चबाट बाहिरिन पुग्दछु ।

गोरखाबाट फर्किएको दुई–तिन दिन पश्चात् एक मध्यान्ह म फेसबुकमा हराउँदै थिएँ । ‘यो मुलुकमा अराजकता बढ्यो, अव्यवस्था बढ्यो, गुण्डा बढे, अपहरणकारी बढे, दलाल बढे, बलात्कारी बढे…..कसैलाई मतलब छैन । कवि बढे, सबैलाई तनाव छ ।’ देशको समसामयिक स्थितीप्रति व्यङ्ग्य गर्दै कवि तथा उपन्यासकार बुद्धिसागरले फेसबुकमा पछिल्लो पटक लेखेको ‘स्ट्टाटस’ मेरो ‘फेसबुक भित्तो’मा देखियो । म पुनः एकचोटी घायल भएँ । यो लेखाईले वास्तवमै मेरो कवि मन पुनः द्रविभूत भएर आयो ।
*As published in Chitwan Post Daily (2068/04/13)

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)