राजधानी (निबन्ध)
कहिलेकाहिँ राजधानी मलाई एउटा ‘ब्ल्याकहोल’
हो कि जस्तो पनि लाग्छ । अनन्त सम्भावना र सपनाहरूको खेति गरेर राजधानी
कहिल्यै थाक्दैन । मान्छेहरू राजधानीमा आफ्ना सपनाहरूको बिस्कुन सुकाउन
जान्छन् । कतिपय सपनाहरूले राजधानीको पारिलो घाम तापेर सुक्ने अवसर पाउँछ,
तर फेरी कतिपय सपनाहरूले राजधानीको ओसिलो शीतमा कुहिनु पनि पर्छ ।
‘ब्ल्याकहोल’ एउटा अनौठो शक्तिकेन्द्र हो,
अथवा भनौं यो अन्तरीक्षमा भइरहने एउटा नियमित घटना पनि हो । सुपरनोभा
(सूर्यभन्दा ठूला तारा)हरूको विस्फोटनपछि अन्तरीक्षमा ताराहरू केन्द्रतिर
खाँदिदै गएर असीमित गुरुत्वाकर्षण भएको अदृश्य तर साना पिण्डमा परिणत
भइदिन्छन् । त्यसैलाई विज्ञानले ‘ब्ल्याकहोल’ भनेको छ । ‘ब्ल्याकहोल’
यतिधेरै शक्तिशाली हुन्छ कि त्यसबाट प्रकाश पनि उम्कन सक्दैन ।
मैले राजधानीलाई पनि एउटा ‘ब्ल्याकहोल’
भनिदिएँ । कारण मलाई राजधानी ‘ब्ल्याकहोल’ जस्तै लाग्छ । ‘राजधानी
एक्सप्रेस’ चढेर गएका अधिकांश मान्छेहरू पनि ‘ब्ल्याकहोल’ भित्र छिरेको
प्रकाशजस्तै अक्सर फिर्ता आउँदैनन्, ‘राजधानी एक्सप्रेस’ मात्रै फिर्ता
आउँछ । यो देशमा ‘राजधानी एक्सप्रेस’ चढेर गएका मान्छेहरू मध्येमा पनि
प्रायः जसो आवधिक चुनावका विजयी नेताहरू फिर्ता आउँदैनन् ।
यसो हुनुमा राजधानीसँग केहि न केहि
गुरुत्वाकर्षण अवश्य छ भन्ने बुझिन्छ । राजधानी देशको केन्द्र हो । त्यसैले
केन्द्रमा गुरूत्वाकर्षण भएन भने त्यो विज्ञानसंगत पनि हुँदैन ।
गुरुत्वाकर्षणको प्रभावले ‘न्यूटनको स्याउ’ त बोटबाट आकाशतिर नगई भुइ“तिर
खस्छ भने मान्छे जाबो त के हो र ? त्यसैले राजधानीले निलेका मान्छेहरू
सम्झेर आश्चर्यचकित् हुनुपर्ने कुनै कारण म देख्दिनँ ।
बरू कहिलेकाहिँ मलाई पनि राजधानीले
कुप्लुक्कै निले हुन्थ्यो जस्तो लाग्छ । निल्नको लागि सजिलो भइदिन धेरैचोटी
नागढुङ्गा पार नगरेको पनि कहाँ हुँ र ? तर भाग्य भनुँ कि दुर्भाग्य
अहिलेसम्म मलाई राजधानीले निल्न सकेको छैन । जसो गरेर छिरे पनि राजधानीले
मलाई एकदुई दिनमै फेरी चारभञ्ज्याङ्ग कटाइदिन्छ । सायद साइत पारेर नछिरेको
भएर पो हो कि ?
मेरा धेरै साथीहरू छन् राजधानीले निलेका ।
केहि साथीहरू त अझ राजधानीको ‘ढाडमा टेकेर टाउकोमा हान्दै’ अष्ट्रेलिया,
यूके र यु.एस्.ए. तिर पनि पुगिसके । अब केहि वर्षपछि फर्कदाँ तिनीहरूको र
मेरो दोस्ती हात्ति र कमिलाको दोस्तीजस्तो हुनेछ । त्यता पुग्न नसकेको केहि
साथीहरू भने साउदी, दुबई र मलेशियातिर पुगेका होलान् । तिनीहरू फर्कदाँ
पनि हामीबिचको दोस्ती भनेको हात्ति र कमिलाको जत्तिकै नभए पनि घोडा र
कमिलाको जत्ति त अवश्य हुनेछ । जुन साथी जहाँबाट फर्किए पनि आखिरमा म कमिलै
हुने हो । ‘यसै कमिला उसै कमिला, कमिला नै भएपनि यतै रमौंला’ भन्ने गीत
लेखेर मन बुझाउँदै हिँड्नुपर्ला जस्तो पनि लाग्छ अचेल कहिलेकाहिँ ।
राजधानीको कुरा गर्दागर्दै मनको तितो पोख्न
थालिएछ । त्यो तितो पोखिएर कसैलाई असर पुगेको भए म क्षमा मागिहाल्न
चाहन्छु । फेरी पनि राजधानीकै कुरा थालौं । मैले भनिसकें राजधानी देशको
केन्द्र हो, न्युक्लियस हो । कुनै पनि तत्वको केन्द्रमा प्रोटोन (Proton) र
न्युट्रोन (Neutron)हरू भएझैं राजधानीमा पनि अनेकन् प्रोटोन र
न्यूट्रोनहरू छन् । ती प्रोटोन र न्यूट्रोनहरू प्रायः अवसर (Scope) बनेर
प्रस्तुत भइदिन्छन् । त्यसपछि अवसर शिक्षा, स्वास्थ्य, सुविधा जस्ता
आवश्यकताहरूमा रुपान्तर हुन्छन् । हामी त केवल त्यो केन्द्रको परिवृत्तमा
घुमिरहने इलेक्ट्रोन (Electron)हरू हौं । इलेक्ट्रोन चार्जविहीन हुन्छ ।
हामी मोफसलमा बस्नेहरू पनि कहिलेकाहिँ त चार्जविहिनै छौं कि जस्तो पनि
लाग्छ ।
अब कति घुमाई–घुमाई कुरा गर्ने ? गाँठी
कुरा नै गरौं । अचेल बेलाबेलामा मोफसलहरूलाई पनि राजधानी बनाउने हल्ला
सुनिन्छ । अझ साहित्यमा त झन् धेरै थरिका राजधानीहरू घोषणा पनि भइसके ।
गजलको राजधानी, मुक्तकको राजधानी, कविताको राजधानी, गीतको राजधानी,
छेस्काको राजधानी, हाईकुको राजधानी, तान्काको राजधानी, चोकाको राजधानी ।
उफ्फ ! सुन्दा–सुन्दा कान पाक्छ होला तर साहित्यका राजधानीहरू सिद्धिदैंनन्
। अरु राजधानीहरू कहाँ–कहाँ छन् मलाई थाहा छैन । यद्यपी मैले गलत सुनेको
होइन भने मेरो बसोबास रहेको जिल्लालाई स्वयं गजलको राजधानी भनिन्छ ।
चार्जविहीन मोफसललाई रिचार्ज गराउने हदसम्म त राजधानीको घोषणालाई ठिकै
मान्न सकिएला । तर राजधानीलाई धारेहात लगाउँदै गाली गर्ने अनि फेरी आफु
बसेकै जिल्लालाई अनेक–अनेक राजधानीको घोषणा गर्ने प्रवृत्तिलाई के नाम दिने
? मैले सोंच्नै सकेको छैन । यस्लाई मोफसलप्रेम भन्ने कि राजधानीवाद नै
भन्ने ? सोंच्यो भने बेलाबेलामा म निकै ठुलो तनावमा पर्छु । यी सबै कुराहरू
मोफसलमा बसेका चार्जविहीन इलेक्ट्रोनहरूलाई साँच्चिकै रिचार्ज गराउने नारा
हुन् की केवल नाराका लागि मात्र लगाइएका नारा हुन् ? यदि केन्द्र भत्काएर
फेरी उपकेन्द्रहरू निर्माण गर्ने हो भने केन्द्र भत्काउनुको औचित्य कहाँ
पुष्टि हुन्छ ? किनकी त्यहि उपकेन्द्रहरूले भोलि फेरी अर्को मोफसल
नजन्माउला भन्ने ग्यारेण्टी के ? प्रश्न यत्ति हो ।
मोफसलको पीडा चर्को छ । मोफसलले भोगेको भोक
र तिर्खाको त झन् के कुरा गर्नु ? यद्यपी पीडा, भोक र तिर्खाहरूको बिचबाट
नै सबैभन्दा जोशिलो क्रान्तिकारी गीत निस्कन सक्छ । त्यस्तो गीत राजधानीले
सुनेन भने राजधानी बहिरो छ भन्ने बुझे हुन्छ र राजधानीको टाङ्गमुनि लगेर
शब्दहरूको बम पड्काइदिए पनि हुन्छ । तर मोफसलको पीडालाई अर्को राजधानीको
घोषणाले मल्हमपट्टी लगाउन सक्दैन भन्ने बुझ्नु पनि त्यत्तिकै आवश्यक छ ।
-x-x-x-

Comments
Post a Comment