'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)

प्रकाश सायमी – यो नाम स्वयंमा एउटा पारिभाषिक शब्द जस्तो भइसकेको छ । किनकी सिर्जनाका अनेकन् विधाहरूमा उनि स्थापित छन् । चलचित्रकर्मी, रेडियोकर्मी, गीतकार, नाटककार, संगीत मर्मज्ञ, कवि उनका परिचयका हाँगाबिगाहरू हुन् । यीमध्ये कुनै पनि विधाबाट अलग बनाएर उनको परिचयलाई परिभाषित गर्न खोज्ने हो भने त्यो परिचय सम्पूर्ण पातहरू झरिसकेको, हाँगाबिगा भाँच्चिएर पनि ठडिरहेको एउटा कुरुप रूखजस्तो हुने पक्का छ ।

बहुआयामिक परिचय र व्यक्तित्वको स्तम्भ बनिसकेका उनै प्रकाश सायमीको पछिलो कृति ‘गालिबको चिहान र अरू कविता’ यतिबेला बजारमा चर्चाको विषय बनिरहेको छ । यद्यपी ‘विक्रमाब्द २०३६ सालमा भाषा आन्दोलनको सिलसिलामा नेवार भाषामा कविता लेखेर छपाएपछि कवि भएको वा कविको रूपमा चिनिएको’ भनेर स्वीकारेका उनको यो कृति (गालिबको चिहान र अरू कविता) उनले व्यतित गरेर आएको त्यहि कालखण्डको ‘फ्ल्यासब्याक’ हो कि जस्तो पनि प्रतीत हुन्छ । किनकी उनले यसमा भाषा आन्दोलनको क्रममा छापिएको आफ्नो त्यहि कविता ‘जिगू ख्वाःपा’ देखि लिएर वि.सं. २०५६ सालमा प्रकाशित आफ्नै कविता सङ्ग्रह ‘ई सलाईका काँटीहरू’को शीर्ष कविता समेत समावेश गरेका छन् ।

प्रकाश सायमी नेपाली कविताको क्षेत्रमा राम्रैसँग चिनिने कवि हुन् । त्यसैले उनका कविताहरू पनि टाढैबाट चिनिने सुन्दर खालका छन् । जसरी घामलाई मान्छेले धरतीमा बसेर पनि टाढैबाट चिन्छन्, जसरी जून र ताराहरूलाई रातको अध्याँरोमा पनि टाढैबाट चिनिन्छ, त्यसरी नै सायमीका कविताहरू पनि चिनिन्छ । घाम, जून र ताराहरूलाई टाढैबाट चिनिनुको पछाडी तिनीहरूमा अन्तर्निहीत प्रकाशको मुख्य भूमिका हुन्छ । ठीक त्यसरी नै सायमीका कविताहरू चिनिनुमा पनि प्रकाश (सायमी) नै मुख्य कारण हो भन्ने प्रष्ट छ ।
म कविता भएर
तिम्रो ओठमा आउन चाहन्थेँ
तिमीले
तमसुक बनाएर
मलाई कागजमा थुनिदियौ
म तिम्रो मनमा सजिन चाहन्थेँ
आत्म भएर
तर तिमीले
मलाई ढुङ्गा बनाएर
मन्दिरमा थन्काइदियौ ।
                       अर्ध–सत्य (पृष्ठः ७४)
सायमीको यो कृति प्रकाशनमा चितवनको ठूलो हात रहेको छ भन्ने कुरा कृतिमा रहेको उनको लेखकीय पढेपछि थाहा पाइन्छ । त्यसो त सायमी स्वयं पनि चितवनसँग धेरै अर्थमा नजिक भइसकेका व्यक्ति हुन् । कृतिको नामाकरण देखि प्रकाशनसम्ममा चितवनको महत्वपूर्ण भूमिका रहेको कुरा उनले स्वीकारेका छन् । कृतिको नामाकरणको सम्बन्धमा उनले ‘चितवनबाटै यो किताबको न्वारन भयो’ पनि भनेका छन् । तर यसपछाडीको प्रसङ्ग भने कहि“कतै उल्लेख गरेका छैनन् । सर्सती हेर्दा कृतिको नामाकरणबाटै सायमी गालिबका ठूला ‘फ्यान’ हुन् भन्ने बुझिन्छ । कृतिमा गालिबकै सन्दर्भमा लेखिएको ‘गालिबको चिहान’ शीर्षकको शीर्ष कविता विषयक्रमको दोस्रो नम्बरमै राखिनुले पनि यसलाई थप पुष्टि गर्छ । साथसाथै उनले यसभन्दा अगाडी नै गालिबको छोटो परिचयको लागि एक पृष्ठ खर्चेका पनि छन् ।
प्रकाश सायमी (लेखक)

त्यसो त गालिब उर्दू भाषाका महाकवि हुन् । ऊ धेरै लेखक तथा पाठकहरूका प्रिय कवि पनि हुन् । प्रेरणाका स्रोत हुन् । सायमी पनि तिनै मध्येका एक ‘फ्यान’ हुन् । तसर्थ उनले आफ्ना तिनै ‘सेलिब्रेटी’को सम्मानमा केही शब्दहरू खर्चेर कविता लेखेका छन्, र त्यसैबाट किताबको नामाकरण पनि गरेका छन् । तर ‘फ्यान’का सबै कार्यहरू कुनै पनि ‘सेलिब्रेटी’लाई चिनाउन/बुझाउन/सम्मान प्रकट गर्न सधैं पर्याप्त नहुन सक्छ । सायमीले पनि यो कृतिमा गालिबको चिहानमाथी कविताको स्मारक ठड्याउने प्रयास राम्रै गरेका छन् । तर त्यो कताकता अपूर्ण जस्तो पनि लाग्न सक्छ । गालिबको सन्दर्भमा गालिबलाई चिनाउने थप कविता वा त्यसैको पृष्ठभूमीमा लेखिएको अन्य कविता भइदिएको भए कृति कृतिको नामजस्तै गालिबमय हुन सक्ने थियो भन्ने एउटा सम्भावनालाई जिवितै राखेर यो कृति बजारमा आइपुगेको छ ।

यस कृतिलाई सायमीले ‘कविता सङ्ग्रह’ भनेका छन् । तर कृति पढिसकेपछि पाठकलाई कविता सङ्ग्रह मात्र पढें भन्ने लाग्दैन । किनकी १३२ पृष्ठसंख्या रहेको यस कृतिमा उनले ६० पृष्ठ कविता, २४ पृष्ठ गीत र ३२ पृष्ठ चाहिँ कवि स्वयंका सम्बन्धमा प्राप्त विभिन्न पाठकीय टिप्पणी र अन्तरवार्ताका लागि छुट्याएका छन् । भूमिका खण्डको लागि छुट्याइएको अग्रभागको १६ पृष्ठलाई हटाइदिने हो भने यो प्रकाश सायमी विशेषाङ्क कुनै साहित्यिक पत्रिका हो कि भन्ने पनि लाग्न सक्छ । गरिमा साहित्यिक मासिकबाट साभार गरिएको एउटा लामो अन्तवार्ता र छोटा–छोटादेखि लामा–लामा पाठकीय टीप्पणीहरू सम्मको लागि खर्चिएको पृष्ठमा बरू कविले आफ्ना थप सुन्दर कविता र गीतहरू राखेको भए पाठकहरूको लागि त्यो थप पठनीय हुने थियो भन्ने पनि लाग्दछ । कवितामा तीस वर्ष र गीतमा बाईस वर्ष भनेर तीस वटा कविता र बाईस वटा गीत समावेश गरिएको यो कृति विधागत वर्गीकरणअनुसार छुट्याइएको अधिकतम पृष्ठसंख्यालाई आधार मान्ने हो भने चाहिँ कविता सङ्ग्रह नै हो भन्ने कुरामा द्विविधा राख्न मिल्दैन ।
*As published in Chitwan Post Daily (2068/05/17)

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध