‘चौबीस रिल’मा खिचिएका दृश्यहरू (कृति चर्चा)
पुष २४ गतेको बिहान सदाझैँ स्टाफ बस चढी
अफिस जाँदै थिएँ । मोबाइलमा अचानक एउटा मेसेज आयो । मेसेजमा लेखिएको जम्मा
दुई वटा शब्द थियो – ‘चौबीस रिल’ ।
के हो चौबीस रिल ? किन आयो यस्तो मेसेज ?
के भन्न खोजेको हो यो दुई शब्दले ? अनायासै म प्रश्नहरूको घेराबन्दीमा परेँ
। आफैले आफैलाई सोधेको प्रश्नहरूको कुनै चित्त बुझ्दो उत्तर नपाएपछि त्यो
प्रश्न मैले मेसेजकर्तालाई नै सोध्ने निधो गरेर दुई–तीनवटा प्रश्न हतपत्त
टाईप गरी रिप्लाई पठाएँ । उताबाट झन् हाँसो पनि शब्दमा रुपान्तरित भएर
अर्को मेसेज आयो – ‘हाहाहा…सोंच्नु न के होला ?’
म फेरी अर्को बिलखबन्दमा परें । बाटो
हराएको बटुवाले जुन गल्ली समात्दा पनि बाटो नभेट्टाएपछि तिनको मस्तिष्कमा
छाउने हैरानी मेरो मस्तिष्कमा पनि छताछुल्ल भइसकेको थियो । अन्ततः पोखिएँ,
हार खाएँ र भनें – ‘मैले सकिनँ ।’
त्यसपछि उताबाट अर्को मेसेज आयो – ‘डियर
ब्रदर, यो मेरो निबन्ध सङ्ग्रहको नाम हो । हाहाहा…हाऊ इज इट ?’ मेसेजकर्ता
थिए कवि भूपिन व्याकुल । (त्यतिबेला उनले आफ्नो नामबाट ‘व्याकुल’ शब्द
हटाइसकेका थिएनन् । अर्थात् उनी व्याकुल नै थिए भन्न सकिन्छ ।)
कवि भूपिनको निबन्ध सङ्ग्रह छिट्टै आउँदैछ
भन्ने हल्लाले साहित्यिक बजार तातिसकेको थियो । तर त्यो निबन्ध सङ्ग्रहको
प्रतीक्षा पनि गोदोको प्रतीक्षाजस्तै भइसकेको थियो । अर्थात् छिट्टै शब्द
मुखमा मात्रै छिट्टै आइरहेथ्यो । यथार्थमा त छिट्टै शब्द एउटा सिङ्गो
पुस्तकको रूपमा भने निकै सुस्त गतिमा आउँदैथ्यो ।
यसैबीचमा ‘रात रहे अग्राख पलाउँछ’ भन्ने
प्रख्यात नेपाली उखानलाई चरितार्थ पार्दै भूपिनको आउँदै गरेको निबन्ध
सङ्ग्रहको नाममाथी पनि धेरै अग्राखहरू पलाइसकेका थिए । सङ्ग्रहको लागि
सुरूमा मैले भूपिनको मुखबाट सुनेको नाम ‘साइकलको क्यारियरमा समुन्द्र’ थियो
। मैले भने धेरै चोटी मलाई मन परेको वहाँको एउटा निबन्ध ‘जीवनः साझा बसको
अन्तिम सीट’लाई नै सङ्ग्रहको पनि नाम दिन ‘प्रेस्क्राइब’ गरिरहेँ ।
प्रेस्क्रिप्सनमा एक–दुई चोटी ‘भोकको संगीत’ पनि परे । र आज आएर यो मेसेज ?
म तीनछक परिरहेँ । सोंचे, अब एक–दुई साँझ कवि–कुनाको बसाइँमा यो बिषयले
सितनको राम्रै काम गर्ने भयो ।
भूपिन मैले चिने देखि नै कवि हो । अर्थात
यसो भन्दा उत्तम होला – एउटा कविको रूपमा नै मैले भूपिनको अनुहारलाई पढ्न
सुरू गरेको थिएँ । यस्तो कवि, जो कवितामा जीवन भर्न चाहन्छ र जीवनमा कविता ।
प्रेम – जस्को कवितामा अर्को अनिवार्य तत्व हो । त्यहि तत्वको साहाराले
हामीलाई एक–अर्कासँग जोड्न मद्दत पनि गरिराखेको छ ।
चौबीस रिल – यो त्यहि शब्द हो जुन शब्द
सुरूमा मेसेज भएर मेरो मोबाइलको इनबक्समा छिर्यो र त्यसको करिब दुई
महिनापछि अन्ततः निबन्धको पुस्तक भएर अहिले मेरो हातमा परेको छ । पल्टाएर
हेर्दा त्यहाँ भूपिनको चौबीस वटा संस्मरणात्मक निबन्धहरू भेटिनेछन्, जुन
निबन्ध निबन्धकारकै शब्दमा भन्नुपर्दा विगत १६ वर्षको अवधीमा खिचिएको उनकै
जीवनका २४ वटा रिलहरूको संकलन हो ।
![]() |
| भूपिन (लेखक) |
यसमा समेटिएका प्रायः निबन्धहरू
निबन्धकारका नीजि धारणा र विचारहरूबाट ग्रसित छन् । जसलाई निबन्धकारले
सक्दो रूपमा निर्वैयक्तिक बनाउने प्रयास पनि गरेका छन् । यद्यपि यो
प्रयासका बाबजूद उनि आफ्ना निबन्धहरूमा स्पष्टसँग बोलेका छन् । विचारमा
दृढता स्पष्टवक्ता हुनुको पहिलो शर्त हो । यसअर्थमा भूपिन आफ्ना
विचारहरूप्रति दृढ छन् । दृढविश्वासी व्यक्तिहरूले नै अरुलाई पनि आफ्नो
विचारसँग सहमत गराउन सक्ने ल्याकत राख्दछ । चौबीस रिलमा भूपिन पनि आफ्ना
निबन्धहरू मार्फत् पाठकलाई आफ्नो विचारसँग एकाकार गराउन कटिबद्ध देखिन्छन् ।
(यद्यपि असहमत पनि हुन सक्ने अधिकार पाठकसँग सुरक्षित छ ।) जस्तो, आफ्ना
केही निबन्धहरूमा उनि यसरी बोलेका छन्:
“इतिहास साक्षी छ, रोमन युगमा मानिसका
सपनाहरू सिनेटमा प्रस्तुत गरिन्थे । ती सपनाबारे व्यापक बहस र विश्लेषण
गरिन्थ्यो । तर हाम्रो देशको संसद् भवनभित्र कविका सपनाको कुनै चर्चा
हुँदैन । त्यहाँ त सपनाका हत्याराहरूको सधैं वर्चस्व देखिन्छ ।”
(कवि र सपना, पृष्ठ १३)
“देश जति भूगोलले बाँच्छ, त्यत्ति नै
चेतनाले पनि बाँच्छ । चेतनाको अन्तरघुलनले संस्कृतिको निर्माण हुने भएकोले
देश सांस्कृतिक विम्ब पनि हो । यो सांस्कृतिक विम्बहरूको संयोजनले पनि बन्छ
र बाँच्छ ।”
(सांस्कृतिक विम्ब, पृष्ठ ५४)
“यो देशका अधिकांश युवायुवतीको हृदयमा
राष्ट्रिय हैन, कुनै अन्तर्राष्ट्रिय धुन मात्र बजिरहन्छ । उनिहरूको एउटा
पाइला मात्रै छ यो देशभित्र र अर्को पाइलाले विदेशको आकाश ताकिरहेको छ सधैं
। त्रिभुवन विमानस्थलबाट पराइ आकाश ताकिरहेका ठूलो जनशक्तिको ताँतीले
भनिरहेको छ, सुगौली सन्धिमा भूगोल त हामीले गुमायौं गुमायौं, चेतनाका
फिलिङ्गाहरूलाई पनि हामीले जोगाउन सकिरहेका छैनौं । यी तिनै फिलिङ्गाहरू
हुन्, जससँग भोलीको देशलाई दिने उज्यालो र न्यानो छ ।”
(सांस्कृतिक विम्ब, पृष्ठ ५७)
“जति अङ्कुश लगाउन खोजे पनि मानिसले
मुक्ति खोज्छ खोज्छ । दिव्य सपनाहरूको खेती गर्न प्रतिबद्ध मानिसलाई
अँध्यारो शासनले अठ्याँइरहन खोज्नु नदीलाई बाँध बाँधेर छेक्नुजस्तै हो ।
केही समय त्यो थामिए जस्तो लाग्छ, रोकिए जस्तो लाग्छ तर त्यसको गतिशीलता
बाँधको अग्लो चुलीबाट झरनाझैँ खस्छ खस्छ ।”
(नदी र जीवन, पृष्ठ ९०)
“सेप्टेम्बर एघार जंगली आक्रोशको अभिव्यक्ति नै थियो । त्यसले सबै मानवताप्रेमीहरूलाई दुःखी बनाएको थियो ।”
(सेप्टेम्बर एघारको ऐँठन, पृष्ठ १०९)
“म झुटोको विरुद्धमा छु, तपाईंहरूझैँ ।
तर कहिलेकाहीँ झुटो बोलेको छु । बाआमा, पत्नी, छोरा, साहित्यिक संगठन र
क्याम्पस प्रशासनसँग दुई चारपटक हल्काफुल्का झुटहरू बोल्नु परेको छ । कतिपय
सच्चा पूजारीहरू भगवानसँग झुटो बोल्छन् । कतिपय नेताहरू देशसँग झुटो
बोल्छन् । लेखकहरू आत्मकथामा समेत झुटो बोल्छन् । म झुटलाई घृणा गर्छु तर
दुई चारपटक यस्ता घृणित कार्य गरेको छु ।”
(साठी सालको डायरी, पृष्ठ ११९)
“यति विशाल विश्व ब्रह्माण्डमा प्रकृतिले
मानिसलाई जुन मौलिकता दिएको छ, त्यसमा त्यही दिनदेखि नै मैलो लागेको छ, जुन
दिन मान्छेले कायरतावश ईश्वरको आविष्कार गर्यो ।”
(दुई महान् त्रासदी, पृष्ठ १६२)
“प्रारम्भमा ईश्वरलाई हामीले स्थापित
गर्यौं र उसलाई हाम्रो मूल्यभन्दा मूल्यवान ठान्यौं । अहिले पैसालाई पनि
त्यही मूल्य दिइरहेका छौं । यो नै हाम्रो समयको महानतम त्रासदी हो ।”
(दुई महान् त्रासदी, पृष्ठ १६४)
आफ्ना वैचारिक निबन्धहरूमा भूपिन बढी
स्पष्टसँग बोल्ने प्रयास गरेका छन् । ‘कवि र सपना’, ‘रूखको विम्बमा कविता’,
‘सांस्कृतिक विम्ब’, ‘अस्तित्व’, ‘जीवनः साझा बसको अन्तिम सिट’, ‘नदी र
जीवन’, ‘हत्यारा सोंच’ र ‘दुई महान् त्रासदी’ लगायतका निबन्धहरूलाई उनका
वैचारिक निबन्धहरू मान्न सकिन्छ । यद्यपि यी निबन्धहरू पढ्दै गर्दा
मस्तिष्कमा कुनै वैचारिक बोझ अनुभव हुँदैन । विचार पढ्न नाक खुम्च्याउने
पाठकहरूले पनि यी निबन्धहरू सजिलै छिचोल्न सक्छन् । किनकी यी निबन्धहरूमा
भाषाको सम्प्रेषणीय प्रयोग र कलाको खपत प्रचूर मात्रामा गरिएको छ । बरू
‘चोरबाटो हुँदै माडी’, ‘साठी सालको डायरी’ र ‘सांग्रीलाको हृदय’ लगायतका
निबन्धहरू तुलनात्मक रूपमा केहि बोझिला लाग्छन् । यी निबन्धहरूमा भएको
यात्रा र दैनिकीको एकसरो जस्तो बयानले यीनिहरूलाई बोझिलो बन्न सहयोग
पुर्याएको देखिन्छ ।
पछिल्लो समय नेपाली साहित्यमा फस्टाएको
संस्मरणको व्यापार तर्फ भने भूपिन पनि मज्जैले लोभिएका देखिन्छन्, उनका
निबन्धहरू पढिरहँदा । त्यसो त यात्रा, संस्मरण र विचारको कलात्मक
‘फ्यूजन’ले नै नेपाली निबन्धलाई पठनीय, आकर्षक र खपत योग्य बनाइरहेको समय
हो यो । यस कोणबाट हेर्दा चौबीस रिल पनि त्यस्तै यात्रा, संस्मरण र विचारको
त्रिवेणी हो भन्न सकिन्छ । यो त्रिवेणीमा पाठकले सजिलै र मज्जैसँग
डुबुल्की लगाउन सक्नेछन् ।
संस्मरणात्मक शैलीका निबन्धहरूमा ‘भोकको
संगीत’ भूपिनको सशक्त निबन्ध हो । यसमा उनले बुबासँग पोखरा देखि
बाग्लुङ्ग–बलेवासम्मको हिंडाईमा अनूभुत गरेको जीवनको एउटा पाटोलाई
हृदयश्पर्शी ढङ्गले पस्किएका छन् । त्यस्तै ‘समयको कुरूप चित्रकारिता’,
‘कविता यात्राको गोरेटो’ र ‘डिभाइन भ्यालीमा नास्तिक अनुभूति’ लगायतका
निबन्धहरूले पनि नजिकैबाट हृदयको तारलाई चलाएर जान्छ । तर, नितान्त
वैयक्तिक गुनासा जस्ता लाग्ने कुराहरू समेटिएको ‘प्रकट दाई र पोखरा
नोष्टाल्जिया’ जस्तो निबन्धलाई पनि भूपिनले किन यो सङ्ग्रहको लागि छनौट गरे
? यस्को उत्तर सायद उनलाई मात्रै थाहा होला ।
साङ्ग्रिला बुक्सले प्रकाशन गरेको यो
निबन्ध सङ्ग्रहमा समेटिएका अधिकांश निबन्धहरू निबन्धकारले लेखकीयमा
भनेजस्तै घटना, जीवन र समाजलाई निबन्धकारकै नजरबाट खिचेको गतिशील
दृश्यहरूको चित्रपट नै भएको छ । उक्त चित्रपटमाथी चौबीस रिल मार्फत्
भूपिनले आफ्ना चौबीस बुँदे घोषणापत्र जारी गरेका हुन् कि जस्तो पनि देखिन्छ
। जे होस्, सामर्थ्यवान कविको रूपमा भूपिन यसै स्थापित थिए । यसउप्रान्त
उनको नाम नेपाली निबन्ध जगतमा पनि बारम्बार पुनरावृत्त भइरहने आशा गर्न
सकिन्छ ।
-x-x-x-


Comments
Post a Comment