विचारका कुरा !

“मान्छेहरू विचारका अभिशप्त भरिया हुन् । त्यहि विचारका कुरा गर्न थालियो भने चाहिँ अक्सर मान्छेहरू मुन्टो बटार्छन् ।”

गतहप्ता (असोज १०, २०६९)को बुधबार फेसबुकको ‘ह्वाट्स अन योर माइण्ड’ लेखिएको ‘बक्स’मा गएर यति लेखेपछि सायद मैले अलिकति राहत महशुस गरेको थिएँ । विचार बोकेका केही साथीहरूले विचार बोकेरै अविचारको कुरा गर्न थालेपछि मैले आफैलाई राहत प्रदान गर्न नै सही, यति लेख्नुपरेको थियो ।

मेरो विचारमा, विचारको सवालमा मान्छे एक्लो टापु हुन सक्दैन । सुन्दर होस् या असुन्दर, हितकारी होस् या अहितकारी, लोकप्रिय होस् या अलोकप्रिय, वैयक्तिक होस् या सामाजिक – जुनसुकै अवस्थामा मानिस विचारको अधिनस्थ हुन्छ । दशैंघरको प्रकाश नछिर्ने अँध्यारो कोठामा जमरा उम्रिए जस्तै विचार उम्रिन्छ – मान्छेको मस्तिष्कमा । अनुभूतिजन्य सोंचहरू विचारको प्राथमिककालिन् कच्चा पदार्थ हो । सोंचको विकास सँगसँगै मस्तिष्कको पाठेघरमा विचारको फूल फुल्छ, जमरा उम्रिन्छ । र मान्छेले त्यसैलाई शिरफूल बनाएर लगाइहिँड्छ ।

शदियौंदेखि मान्छेले विचार बोकि हिँडेका छन् । विचार बोकेरै मान्छे ढुङ्गे युग देखि आजको अतिआधुनिक युगसम्म आइपुगेको हो । युगदेखि युगसम्मको यो लामो यात्रामा मान्छेले विचारलाई नै आफ्नो साधन बनाए, हतियार बनाए । मान्छे पृथ्वीका अन्य प्राणीभन्दा यही कारणले फरक छ, किनकी ऊ विचार गर्न सक्छ । विचारकै बलले मान्छे युगका अन्धकारहरूलाई चिर्न सक्छ । आफ्ना तमाम् दुःख र पीडाहरूमाथी ऊ विचार गरेरै मल्हम लगाउन सक्छ ।

विचार भन्दा विवादित विषय पनि यो दुनियाँमा अर्को केही छैन सायद । कस्को विचार राम्रो ? कस्को विचारले गर्छ युगको प्रतिनिधित्व ? कस्को विचारले गर्छ आममानिसको हित ? प्रश्न गर्न थालियो भने पक्ष र विपक्षमा उत्तरहरूको अर्को ‘ग्रेटवाल’ नै खडा हुन जान्छ । बहसको आँधी नै चल्छ । विचारको फरक–फरक पाठशालाबाट दीक्षित विचारहरूको निष्कर्ष एउटै आउनु स्वाभाविक पनि हुँदैन । विचारको सबैभन्दा सुन्दर र सबैभन्दा कुरुप पक्ष नै यहि हो ।

हरेक चिजको राम्रो र नराम्रो पक्ष हुन्छ भनिझैं विचारको हकमा पनि त्यहि कुरा लागू हुन्छ । र हरेक चिजको नराम्रो पक्षमा मात्रै ध्यान केन्द्रित गर्ने र त्यसको विरोध गर्ने कतिपय मानिसहरू विचारको हकमा पनि त्यहि कुरा गर्छन् । विचार बोक्नै हुन्न, विचारको बहस गर्नै हुन्न, विचारले मानिसलाई दास बनाउँछ, विचारले गर्दा नै संसारमा ठूला–ठूला युद्ध भएका हुन् भन्ने जस्ता जड् तर्कहरूको साहारामा तिनीहरू मान्छेको मस्तिष्कमा अविचारको धनुषवाण प्रहार गर्छन् । जीवनलाई केवल भवसागर मात्रै मान्ने र यसबाट बच्नको लागि विचारबाट स्वतन्त्र रहनुपर्ने जिकिर गर्छन् । यद्यपि, यसो भन्दै गर्दा तिनीहरू स्वयं नै विचारको यस्तो कित्तामा उभिन पुग्छन् जस्ले सीमित स्वार्थ र वर्गहरूको मात्रै सेवा गर्छ । मान्छेलाई विचारशुन्य रोबोट बनाएर आफ्नो विरुद्धमा आवाज उठ्न सक्ने सम्पूर्ण सम्भावनाहरूलाई निस्तेज पार्ने र तिनीहरूलाई उपभोगवादी पूँजीवादी सँस्कृतिको शिकार बनाउदै लुटको स्वर्गमा कुनै भुइँचालो जान नदिने दीर्घकालिन विचार÷नीतिअनुरुप नै यस्ता अविचाररुपी विचारको मनोवैज्ञानिक हमला गरिन्छ ।

केही मान्छेहरू भने आफुलाई तटस्थवादी देखाउन विचारलाई छुवाछुत गर्छन् । तिनीहरू आफुलाई स्वतन्त्र भन्न रुचाउँछन् । वास्तवमा त्यस्ता तटस्थवादी र तथाकथित् स्वतन्त्र भनाउँदाहरु भनेको झन् अघोषित् अवसरवादी हुन्छन् । तिनीहरू आफ्नो स्वार्थअनुकुल हुने बित्तिकै जुनसुकै बखत जुनसुकै विचारको कित्तामा पनि उभिन सक्छन् । वर्षौंदेखि एउटा मात्रै विचारको वकालत र अभ्यास गरिरहेका मानिसहरू त आफ्नो स्वार्थअनुकुल हुने देख्दा सजिलै विरोधी विचारकित्तामा गएर उभिन सक्छन् भने यस्ता स्वतन्त्र र तटस्थवादी भनाउँदाहरूलाई अन्य विचारकित्तामा गएर उभिन कुनै आइतबार पर्खनुपर्दैन । हो, अवसरको ढोका कतिबेला खुल्छ भन्ने कुरा चाहिँ पक्कै पर्खनुपर्छ ।

पछिल्लो युवापुस्ताले भने विचारलाई केवल राजनीतिसँग मात्रै जोडेर हेर्ने गरेको पाइन्छ । त्यसो त राजनीति पनि विचारकै उपज हो तर सम्पूर्ण सत्य यो मात्रै होइन । नेपालको परिप्रेक्ष्यमा कम्युनिष्ट विचार बोक्ने भन्ने बित्तिकै माओवादी या एमाले भनेर बुझिने र प्रजातान्त्रिक विचार बोक्ने भन्ने बित्तिकै कांग्रेस भनेर बुझिने दृष्टिदोष छ । वास्तवमा यी पार्टीहरूसँग पार्टीगत साइनो नगाँसेर पनि यी विचारहरू बोक्न सकिन्छ, बहस गर्न सकिन्छ र अभ्यास गर्न सकिन्छ । तर विचारशून्य हुन सकिन्न ।

फेरी हाम्रो नियती कस्तो भइदियो भने हामी कुनै राजनीतिक पार्टीप्रति आस्था राख्छौं भने पनि हामी ‘म यो पार्टीको हुँ’ भनेर खुलेर भन्न कतिपय स्थितीमा सक्दैनौं । त्यसो भन्नुपर्दा हामीलाई कतिपय अवस्थामा लघुताभाष हुने गर्छ । वास्तवमा यस्को जिम्मेवार नेपाली राजनीतिक दलका ती नेताहरू हुन्, जस्ले राजनीतिलाई केवल मागी खाने भाँडो बनाएका छन् । जनजीविका र जनचासोका मुद्दाहरूलाई आफ्नो स्वार्थअनुकूल मात्रै व्याख्या गर्ने र सत्ताको अङ्कगणीतिय खेलमा रुमल्लिएर बस्ने तिनीहरूको चरित्रले हामीलाई आफ्नो आस्था र विश्वास रहेको पार्टीको नाम लिन पनि लाजमर्दो हुने गर्छ । तर यसो भन्दैमा स्वतन्त्र शब्दको खरानी धसेर अविचारको यात्रा गर्नु पनि उत्तिकै हानिकारक हुनेछ ।

वास्तविकता त के हो भने, विचारको हकमा हामी कहिल्यै स्वतन्त्र हुनै सक्दैनौं । अरुका विचारहरूबाट अलग्गै बस्न सकिएला तर हामी हाम्रै मस्तिष्कमा उम्रिएका सोंच र विचारहरूबाट कसरी अलग्गै बस्ने ? यदि आफ्नो मस्तिष्कमा उम्रिएका सोंचहरूलाई नै स्वतन्त्र विचार भन्ने हो भने त्यो भन्दा मनोगत व्याख्या त झन् अरु हुनै सक्दैन । किनकी हाम्रा सोंचहरू हामी बाँचिरहेको समाज, हामीले देखिरहेको दृश्य, हामीले भोगिरहेको यथार्थ र हामीले सुनिरहेका खबरहरूबाट निरपेक्ष रहन सक्दैन । समाजका अन्य मानिसहरूको सोंच र विचारको सापेक्षमा नै हाम्रा सोंच र विचारहरू जन्मिरहेका/निर्माण भइरहेका हुन्छन् ।

त्यसैले, विचारलाई प्रेम गर्नु आवश्यक छ । विचारको बहस गर्नु झनै आवश्यक छ । विचारको बहसबाट संश्लेषित भएर निस्कने विचारहरूले नै वास्तवमा युगको अन्धकार चिर्ने हो । विचारबाट भागेर मान्छे कहिँ पुग्न सक्दैन ।
-x-x-x-
*As published in “Chure Sandesh Weekly” (2069/06/28)

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)