बाहिर जाने सोंच (निबन्ध)

बाहिर (विदेश) जाने सोंच वर्तमान समयमा आएर राष्ट्रिय चिन्तनको एउटा हिस्सा बनिसकेको छ । मलाई पहिले यो सोंच राष्ट्रिय चिन्तन हो भन्ने लाग्थेन । आफु जन्मिएको, हुर्किएको, खेलेको, बढेको ठाउँ चटक्कै छोडेर बाहिर जाने सोंच बनाउनु कसरी राष्ट्रिय चिन्तन हुनसक्छ ? मेरो मनमा पहिले यी र यस्तै राष्ट्रवादी प्रश्नहरूले डेरा जमाएका थिए । हाल आएर तिनीहरूले डेरा सरेका छन् । अझ यसो भनौं कि ति प्रश्नहरूले आफ्नो जवाफ पाएका छन् ।

पहिले मानिसहरू पैसा कमाउन मुग्लान जान्थे । अझ युवाहरूमा लाहुर जाने परम्परा/बाध्यता नै थियो । त्यो परम्परा अझै पनि जिवित छ । र कताकता त्यो परम्पराको बिँडो थाम्ने जिम्मा मलाई पनि आइलाग्दै छ कि जस्तो लागिरहेको छ ।

नेपालबाट बर्षेनी लाखौं यूवाहरू बाहिरिन्छन् । सुन्दर भविष्यको सपना बोकेर तिनीहरूले सुदूर क्षितिजको यात्रा तय गर्छन् । सँगै पढेका र खेलेका मेरा धेरै साथीहरू पनि यसैगरी सात समुद्रपारी पुगेका छन् । कति ‘स्टुडेण्ट भिसा’ लागेर गए, कति डि.भी परेर गए । डि.भी. त बर्षैपिच्छे मैले पनि भरिराखेकै छु । डि.भी. भनेको चिट्ठा हो । दुःखको कुरा के छ भने चिट्ठाको नाममा मलाई अहिलेसम्म डि.भी. त के चौध इन्चको टि.भी. पनि परेको छैन । तै बाहिर पुगेका ति साथीहरू कहिलेकाहिँ अनलाइनमा भेटिन्छन् । मेरा फेसबुक स्ट्टाटसहरूमा ‘लाइक’ हान्छन् र ‘कमेण्ट’ पनि गरिरहन्छन् । यसरी तिनीहरू टाढा पुगे पनि प्रविधीले हामीलाई जोडिराखेको छ । प्रविधीले गर्दा मलाई तिनिहरूको नियास्रो लाग्न दिएको छैन । तिनीहरू यतै कतै भरतपुरतिरै मनुलाल भैयाको चटपट खाँदै या भण्डारी होटलको टेबुलमा चिया–चुरोट तान्दै मोबाइलबाट च्याट गरिरहेका हुन् कि भन्ने दीर्घभ्रम लिएर म उनिहरूसँग गफिन्छु । ‘भच्र्यूअल रियालिटी’मा बाँच्नको मज्जा नै यहि हुन्छ । मसँग स्वर्गमा कस्तो किसिमको आनन्द पाइन्छ भन्ने कुराको अनुभव छैन । तर पनि भ्रमित भएर गफ गर्नुको आनन्द मलाई ‘स्वर्गीय आनन्द’ भन्दा कम लाग्दैन ।

यूवाहरूको यो बहिर्गमनलाई मान्छेहरू ‘बौद्धिक पलायन’ (ब्रेन ड्रेन) भनेर चिन्ता पनि व्यक्त गरिरहेका छन् । यस्लाई बौद्धिक पलायन नै मान्ने हो भने पनि नेपालमा अब छिट्टै बौद्धिक व्यक्तिहरूको खाँचो पर्ने सम्भावना छ । म त्यो खाँचोलाई पूरा गर्न सक्ने हैसियत भएको मान्छे होइन । खाँचो नभएको मान्छे खाँचो नभएको ठाउँमा बसिरहँदा खाँचो नपरेकाहरूलाई अप्ठ्यारो पर्न सक्छ । बरू बाहिर गएँ भने म अलिकति आफ्नै खाँचो पूरा गर्न सक्छु । अलिकति परिवारको खाँचो पूरा गर्न सक्छु । म बाहिर गएपछि ‘बौद्धिक पलायन’ भनेर चिन्ता व्यक्त गर्नेहरूले दिने उदाहरणभित्र पनि पर्न सक्छु । देशभित्रै बसिरहँदा मेरो खाँचो महशुस नभएको हुनसक्छ । बाहिर गएपछि अलिकता भने पनि खाँचो महशुस गर्छन् कि भन्ने आश छ । हिन्दीमा एउटा कहावत् छ, ‘घरकी मुर्गी दाल बराबर’ । पक्कै पनि त्यस्तै भएको हुनुपर्छ ।

अर्थविद्हरू नेपालको अर्थतन्त्र ‘रेमिट्यान्स’ले धानेको कुरा गर्छन् । मलाई यो देशको अर्थतन्त्रको निकै माया लाग्छ । सानो देश, सानो अर्थतन्त्र । यस्लाई जोगाउनु पर्छ भन्ने कुरा सधैं मनमा खेलिरहन्छ । अब जोगाउनको लागि के गरूँ ? केही उद्यम गरुँ भने लगानीको वातावरण छैन । लगानीको वातावरण भइहाले पनि के गर्ने ? लगानी गर्नलाई रूपियाँ चाहिन्छ । त्यो पनि मसँग छैन । ऋण खोजुँ भने मान्छेहरूले नपत्याउने सम्भावना प्रबल छ । बरु मान्छेहरूसँग बाहिर जानलाई ऋण माग्यो भने सजिलै दिन्छन् । तर देशमै केही गर्न खोज्यो भने फुट्टि कौडी दिन पनि इन्कार गर्छन् । यसको पछाडी एउटा कारण छ । त्यो के भने यहाँ लगानीको सुरक्षा छैन । लगानी गर्नेहरूलाई त्यसको सुरक्षाको ग्यारेण्टी दिनुपर्छ । जस्तो भर्खरै नेपाल र भारतबीच नेपालमा हुने भारतीय लगानीलाई सुरक्षा दिन ‘बिप्पा सम्झौता’ भयो । तर नेपालकै लगानीकर्ताहरूलाई सुरक्षा दिनुपर्छ भन्ने मान्यताअनुरुप अहिलेसम्म कुनै सम्झौता भएको मलाई थाहा छैन । बन्द, हड्ताल, तालाबन्दी, धर्ना, जुलुसजस्ता गतिविधीहरू लगानीमैत्री हुँदैनन् । तर नेपालमा सधैँ यहि भइरहन्छ/भइरहेको पनि छ ।
यस हिसाबले हेर्दा स्वदेशको अर्थतन्त्रमा योगदान दिन पनि म बाहिरिनु आवश्यक भइसकेको छ । नेपालमै बसेर मैले अहिलेसम्म त्यस्तो योगदान दिन सकेको पनि छुइनँ । सानोतिनो जागिरले योगदान गर्न सक्ने कुरा पनि भएन । आफ्नै ‘पकेट मनी’ पुर्‍याउन धौधौ पर्ने मान्छेले अर्थतन्त्रमा योगदान गर्न सकोस् पनि कसरी ? तर यसो भनेर मैले कत्ति पनि योगदान नगरेको भन्ने चाहिँ होइन । हो, काम गर्ने अफिस अगाडीको चमेनागृह अनि साहिँला दाई र कान्छा दाईको भट्टीपसल चलाउनमा मैले केही योगदान पक्कै गरेको छु । पूर्वराजा ज्ञानेन्द्र शाहको शेयर रहेको भनिएको सूर्य नेपाल कम्पनीलाई चलाउन पनि केही योगदान गरिरहेकै छु । तर ती योगदानहरू नगण्य छन् । राष्ट्रिय अर्थतन्त्रमा ति योगदानहरूको उल्लेख हुँदैन । मलाई त्यहाँ उल्लेख हुने किसिमको योगदान गर्ने मन छ ।

आज हेर्नोस्, उपेन्द्र महतो, देवमान हिराचन र जीवा लामिछानेहरूको योगदानको यहाँ कत्रो ठूलो चर्चा हुन्छ । जीवा लामिछाने त अझ चितवनकै हुन् । उनिहरू बर्षमा एक/दुई चोटी नेपाल आउँछन्, एनआरएन सम्मेलन गर्छन् र फेरी उतै जान्छन् । तर यहाँ उनिहरूको चर्चा बर्षैभरी भइरहन्छ । के उनिहरू बाहिर नगएर नेपालमै बसिरहेको भए यस्तो चर्चा सम्भव थियो ? यहाँ चर्चामा छाइरहन कि त रेखा थापा हुनुपर्छ, कि पुष्पकमल दाहाल हुनुपर्छ कि गिरिजाप्रसाद कोइराला । यीनिहरूमध्ये केही हुन सकिएन भने बाहिरिनुको विकल्प छैन । बाहिर गएपछि जे भएपनि चर्चा पाइन्छ । अझ धेरै चर्चा पाउनुछ भने बाहिर गएर अकालमा मर्नुपर्छ, या जेल पर्नुपर्छ । इराकमा उग्रवादीहरूको पञ्जामा परेर घाँटी काटिएर मरेका होस् या खाडीको मरुभूमीमा गर्मी सहन नसकेर मरेका होस्, बाहिर गएर मर्ने नेपालीहरूलाई हेर्नुस् तिनीहरूको यहाँ कत्रो ठूलो चर्चा हुन्छ ।

मान्छे चर्चाप्रेमी प्राणी हो । उसलाई आफ्नो चर्चा सदैव प्रिय हुन्छ । अझ राम्रो चर्चा अत्यन्त प्रिय हुन्छ । नराम्रै चर्चा चलेको रहेछ भने पनि कमसेकम चर्चाको केन्द्रमा त छु भनेर चित्त बुझाउन सकिन्छ । मलाई पनि आफ्नो चर्चा प्रिय लाग्छ । नेपालमै बसेर चर्चामा छाइरहने सम्भावना हाल आएर मैले अत्यन्त न्यून देखेको छु । अब एकचोटी बाहिर जाने सोंच मनमा पलाएको छ ।
*As published in Abhiyan-2068 (a Souvenir of Stationary Association, Chitwan).

Comments

Popular posts from this blog

ठूलो मान्छे (निबन्ध)

‘एक झोँका हावा’ले ल्याएको सुगन्ध

'गालिबको चिहान'माथी कविताको स्मारक (कृति चर्चा)