'एक झुल्को घाम' ओर्लिएपछि सडकमा
पृथ्वीमा घामको झुल्का पृथ्वीको
उत्पतिदेखि नै पोखिदैं आएको हो । वैज्ञानिकहरूले पृथ्वीको उत्पतिको
सम्बन्धमा भन्दै आएको ‘बिग ब्याङ्ग’को सिद्धान्तलाई मान्ने हो भने यसो भन्न
सकिन्छ । यस सिद्धान्तले पृथ्वीलाई सूर्यमा भएको ठूलो विस्फोटन पश्चात्
उछिट्टिएर गएका टुक्राहरू मध्ये सेलाउँदै गएर बनेको एउटा ग्रह हो भन्ने
मानेको छ । सौर्यमण्डलमा रहेका अन्य सदस्य ग्रहहरू पनि यसै परिणतिका उपज
हुन् भन्ने मान्यता यस सिद्धान्तले राख्दछ ।
कालान्तरमा आएर
सूर्यलाई मान्छेको चेतनाले एउटा सिड्डो सूर्यमात्र मानेन । सूर्य घाम बन्यो
र उज्यालोको एउटा मानक स्रोत पनि बन्यो । घाम एउटा बिम्ब पनि बन्यो ।
मान्छेले हजारौं वर्ष पहिले देखि पृथ्वीमा पोखिदैं आएको घामको झुल्कोलाई
मान्छेको सिड्डो चेतनास्तरस“ग जोडिदियो । परिवर्तनसँग जोडिदियो ।
क्रान्तिसँग जोडिदियो । आन्दोलनसँग जोडिदियो । जागरणसँग जोडिदियो । साथसाथै
विकासका यावत् पूर्वाधारहरूसँग पनि जोडिदियो ।
हुन पनि हो, घाम
नभएको भए मान्छे सधैं जीवनका अध्याँरा र चिसा गुफाहरूमा लमतन्न
सुतिरहन्थ्यो होला । रामापिथेकसको ‘फोसाइल’ आधुनिक मान्छेले कहिल्यै
भेट्टाउने थिएन, किनकी घाम नभएको भए मान्छे स्वयंमा यति उन्नत मान्छे पनि
बन्ने थिएन । घाम नभएको भए हिमालका हिउँहरू कहिल्यै पग्लने थिएनन् र
मान्छेका जीवनजस्ता लाग्ने नदीहरू पनि बग्ने थिएनन् ।
घामको यो शाश्वत
सत्यलाई कविताले कहिलेदेखि स्विकार्यो होला ? मलाई ठ्याक्कै यकिन छैन । तर
पनि जब म घामको कविता पढ्न बस्छु त्यतिबेला मलाई भित्रैदेखि कताकता घामको
न्यानोपन अनूभुति हुने गर्छ । कवि सरस्वति श्रेष्ठ ‘सरू’को कविता सङ्ग्रह
‘एक झुल्को घाम ओर्लेर सडकमा’ पढेपछि अनूभुतिहरूको शिखर चढ्ने यस्तै एउटा
अवसर मिल्यो ।
अधिकांश सहरीया
मान्छेहरू अचेल आँखामा कालो चश्मा लगाउँछन् । यदि यो फेशन मात्र होइन भने
उनिहरूलाई थाहा भएको हुनुपर्छ, सोझो आँखाले घामलाई हेर्न खोजियो भने
मान्छेको आँखा तिलमिलाउँछ । त्यसैले होला, कविले पनि कृतिमा रहेको पहिलो
कवितामै घामलाई सोझो आँखाले हेर्न नखोजी एउटा झ्याउँकिरीको आँखाबाट हेर्न
खोजेकी हुन् कि जस्तो लाग्छः
…………………………..
घामले छोडेर गएपछि रोएको साँझमा
फेरी कुन बिहानीले ब्यूँझाउने हो यो साँझलाई
बकैनाका पातहरू हल्लेर
फेरि यो साँझ हल्लिरहेछ
र आकाशका ताराहरू चुहिएर
झ्याउँकिरी निथ्रुक्कै भिजिरहेछ
बुढो बकैनाको रूखमा
तुन्द्रुङ्ग झुण्डिएर झ्याउँकिरी
फेरी भोलि घाम ब्यूँझिएर आउने बाटो
पर्खिरहेछ–पर्खिरहेछ ।
(झ्याउँकिरी–१, पृ. २६)
झ्याउँकिरी
वास्तवमा अध्याँरोमा नदेखिने तर सुनिने एउटा किरो हो । हुनत ऊ उज्यालोमा
पनि देखिदैंन । यद्यपी उसको एकोहोरो कर्कश आवाज घामको उज्यालोमा कहिँकतै
सुनिदैंन । मान्छे पनि त्यस्तै हो, सुखमा उसका पीडादायी क्रन्दनहरू कहिँकतै
सुनिदैंन । कवितामा कविले परिवर्तन पर्खेर बसिरहेको मान्छे र उज्यालो
पर्खेर बसिरहेको झ्याउँकिरीबिच समदूरी कायम गराउन खोजेकी छिन् । सरस्वति
श्रेष्ठ ‘सरू’को उक्त कविता सङ्ग्रहमा अधिकांशतः मान्छेका गीत छन्, जीवनका
गीत छन् र समयको गीत पनि छ । समयकै कारण मान्छे कहिले नौनी बन्छ र फेरी
कहिले ढुङ्गा पनि बन्छ । ढुङ्गा बनेको मान्छेको कविता कस्तो हुन्छ होला ?
…………………………..
आजकल गाउँमा
घरहरू नै छैनन्
आजकल घरहरूको
गाउँ नै छैन ।
…………………………..
…………………………..
आजकल गाउँमा
ढुङ्गाहरू मात्र छन्
ढुङ्गाहरू मौन छन्
जसले जे गरे पनि हुन्छ ।
ढुङ्गाहरू बोल्दैनन्
ढुङ्गाहरू लाटा छन्
ढुङगाहरू बहिरा छन्
ढुङ्गाहरू केहि सुन्दैनन् ।
(परिवर्तित समय, पृ. ४३)
यो कविता अहिलेका
मान्छेहरू र अहिलेको स्थितीप्रतिको निर्मम व्यङ्ग्य हो । हामी मान्छेहरू
अहिले यतिसाह्रो ढुङ्गा भएका छौं कि हामीलाई जस्ले पनि हतियार बनाउन सक्छ ।
हामी बिना कुनै प्रतिरोध, बिना कुनै आवाज र बिना कुनै प्रश्न उनिहरूको
हतियार बनिदिन्छौं र जस्को टाउकोमा गएर पनि बर्सिन सक्छौं । निर्जिव
सञ्चेतनाका पर्खालहरू नभत्काएसम्म हामी केवल ढुङ्गा हौं र केवल ढुङ्गा ।
त्यस्तो ढुङ्गा जोसँग आँखा, नाक, कान र मुख सबै छ तर ती सबै बेकम्मा छन् ।
बेकम्मा हुनपर्नुको आक्रोश उनको ‘स्वास्नीमान्छेहरू’ कवितामा अझ बढी चर्को
सुनिएको छ ।
मान्छे भएर पनि मान्छेको
न कुनै परिचय पाएका छन् उनीहरूले
मान्छे भएर पनि मान्छेको
न कुनै परिभाषा पाएका छन् उनीहरूले
…………………………..
………………………….
उनीहरू तिनै मान्छे हुन्
आफू हुनुको अस्तित्व कहिं कतैबाट नपाउने,
आफु हुनुको यथार्थता कहीं कतैबाट नपाउने
उनीहरू तिनै मान्छेहरू हुन्
जसलाई भारी बोकाइन्छ सृष्टिको
तिनै मान्छेहरूबिना ढोका खुल्दैन सृष्टिको
………………………….
तिनै स्वास्नीमान्छेहरू
जो मान्छे हुनुमा कहिल्यै गर्व गर्न पाएनन् ।
(स्वास्नीमान्छेहरू, पृ. ६१)
वादमा आधारित चेतनाले लेखिएका कविताहरू अलि बढी उग्र हुन्छन् सायद । नारीवादी चेतनामा निर्लिप्त जस्तो देखिने यो
कवितामा पनि त्यो उग्रता पाइन्छ । उग्रताले कहिलेकाँहि चिप्ल्याउने काम पनि
गर्छ । नारीहरूको संवेदना, समस्या र विद्रोहको सवालमा विशिष्ट रहँदा–रहँदै
पनि यो कवितामा परिवर्तनलाई शर्तका रूपमा प्रस्तुत गरिएको छ ।
………………………….
दासत्व नै स्वीकार्छन् बरू
परिवर्तनका छिटाहरूले
स्वाभिमान कुल्चन्छन् भने
दमन स्वीकार्छन् बरू
परिचयका खोलहरूले
अस्मिता ढाकिदिन्छन् भने
………………………….
(ऐं, पृ. ऐं)
हुनत यो सकारात्मक
परिवर्तनप्रतिको अपेक्षा पनि होला, तर परिवर्तनबिना नै एकैचोटी सकारात्मक
परिवर्तनको अपेक्षा पाल्नु निरर्थक सपना हो भन्ने मलाई लाग्छ । एउटै
खुड्किलो नचढी कसरी दशौं खुड्किलोमा पुग्न सकिन्छ ? दशौं खुड्किलो
नपुगेसम्म म खुड्किलो नै चढ्दिन भन्नु कहाँ सम्मको युक्तिसड्डत ठहर्छ ? कविचेतनाले
विचारको यस पाटोतर्फ पनि ध्यान दिएको भए यो कविता अझ बढी विशिष्ट ठहथ्र्यो
कि भन्ने मेरो अनुमान हो । कवि सरस्वति श्रेष्ठ ‘सरू’को ‘एक झुल्को घाम
ओर्लेर सडकमा’ कविता कृतिमा कृतिकै नाममा आधारित कुनै शीर्ष कविता भेटिदैंन
। कृतिको नामलाई सम्बोधन गर्ने उनको सबैभन्दा सशक्त कविता पृष्ठ संख्या
१०० मा रहेको ‘घाम र इतिहास’ शीर्षकको कविता हो जस्तो प्रतीत हुन्छ ।
यद्यपी यसभित्रका अधिकांश कविताहरू घामकै विषयमा लेखिएका छन् । उज्यालोलाई
प्रेम गरेर लेखिएका छन् । उज्यालो सौन्दर्यचेतनाद्वारा आलोकित भएको कविताले
अन्ततः समाजलाई पनि उज्यालो नै प्रदान गर्छ । यस हिसाबले उनि समाजलाई
उज्यालो दिने उन्नत आकांक्षा बोकेर हिंडेकी उज्यालोप्रेमी कवि हुन् भन्ने
प्रष्ट हुन्छ । यस कृतिमा भूमिका लेखन गर्नुभएका समालोचक डा. लक्ष्मणप्रसाद
गौतमकै शब्द सापटी लिएर भन्ने हो भने पनि “सरस्वति श्रेष्ठ ‘सरू’ अलिकति
संवेदनाकी, अलिकति भावनाकी, अलिकति अनूभुतिकी, अलिकति कल्पनाकी, अलिकति
विद्रोहकी, अलिकति समकालीन चेतनाकी र अलिकति उज्यालो मानवीय आस्था र
सौन्दर्यउपासनाकी कवि हुन् भन्ने देखिन्छ ।” करिब पचासको दशकको सुरूवातदेखि
नै साहित्यिक चर्चाको सतहमा देखिन थालेकी कवि सरस्वतिको कवितायात्राले डेढ
दशकको यात्रा पार गरिसकेको छ । यो यात्रामा उनले विभिन्न मोडहरूमा महशुस
गरेका भोगाई र अनूभुतिहरूलाई कवितामा कतिसम्म उतार्न सकिन् ? त्यो सबैभन्दा
धेरै उनैलाई थाहा होला । “अन्ततः ह्दयको क्यानभासमा काव्यिक इन्द्रेणी
सजाउने सतत् प्रयासमा मेरा पाइलाहरू लागि रहनेछन्” भन्दै “जीवनभर भेटिने
साम्भाविक घुम्तिहरू, अदृश्य मोडहरू छिचोल्दै” अघि बढ्न चाहने उनको
प्रतिबद्धतालाई भने म यहाँ सलाम गर्न चाहन्छु ।
-x-x-x-

Comments
Post a Comment