कलाले सधैं मानवीय विचारको मात्रै संरक्षण गर्दैन– भूपिन (स्रष्टा संवाद)
नेपाली कविता र निबन्धका क्षेत्रमा पछिल्लो समय निकै आशा र विश्वासका साथ लिइने नाम हो– भूपिन । पचासको दशकपछि सचेततापूर्वक काव्य तथा निबन्धको साधना गर्दै आएका भूपिनको ‘चौबिस रिल’ निबन्ध सङ्ग्रहले वि.सं. २०६९ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ । हाल चितवनमा बसेर साहित्य साधना गर्ने यिनै चर्चित कवि तथा निबन्धकार भूपिनसँग अक्षय अक्षरका निम्ति सहकर्मी सुमनराज श्रेष्ठले गर्नुभएको कुराकानी तल प्रस्तुत गरिएको छः (सम्पा.) ।
![]() |
| भूपिन |
-विद्यालय अध्ययनको लगभग मध्यकालदेखि नै लेखनप्रति लगाव बढेको हो मेरो । बाबियोको डोरी बाट्न मेरो घरमा जम्मा भएका प्रियजननीहरूलाई मेरी आमाले सुनाउनु भएका लोककथाहरू, स्कुलमा सरहरूले सुनाएका कोर्सका कविता र व्याख्याहरू, लाहुरे दाइहरूको लागि मैले लेखिदिनु पर्ने चिठ्ठीहरू, प्रकृति र गाउँको दुखिया जीवनले मलाई लेख्न प्रेरित गर्यो । मनमस्तिष्कमा अटेसमटेस भई बसेका यावत कुराहरूको तनाव झेल्न र अलिकति नाम कमाउने लोभमा मैले लेख्न थालेको हुँ । लेखेपछि मनोवैज्ञानिक शान्ति मिल्थ्यो । मन हल्का हुन्थ्यो । प्रेमपत्रझैं आफ्नो सिर्जनालाई बिसौं पटक नपढी चयन हुँदैनथ्यो । स्कुलमा आयोजना गरिने कविता प्रतियोगिता र रेडियो नेपालको बाल कार्यक्रममा भाग लिन पनि कविता लेख्न सुरू गरेँ ।
लेखनका सुरूवाती दिनहरू बडो रुमानी र जाँगरिला थिए । जहाँ पनि कविता देख्थें । बाटामा, जंगलमा, बस्तीमा, खेतमा जताततै कवितै कविता । अन्तरमुखी स्वभाव भएकोले दमित इच्छा र तृष्णाहरू प्रकट गर्न पनि लेखनमा लागेजस्तो लाग्छ । लेखनमा आफ्नै ‘सप्रेसिव डिजायर’हरू व्यक्त गर्न पनि पाइने र कसैले शङ्का गरे अरूको कुरा लेखेको हुँ भन्न पनि पाईने दोहोरो अवसर प्राप्त हुने भएकोले आफ्नै अनुभव अरूलाई शङ्का नहुने गरि सुनाउन पनि लेखनलाई माध्यम बनाएँ कि ?
साहित्यमा लाग्न के कुराले बढी प्रेरित गर्यो भन्ने ठान्नुहुन्छ ?
मनोवैज्ञानिक रुपमा विश्लेषण गर्दा मलाई लेख्न प्रेरित गरेको मूल कुरा ‘अभाव’ हो । अभाव नै मेरो बाल्यकालको एकमात्र स्थायी साथी थियो । अभावले मेरो मनमस्तिष्कलाई ‘अफ’ नहुने रेडियोजस्तो बनाइदियो । पारिवारिक आकार ठूलो भएकाले बाबाको थाप्लोमा ऋणको भारी भइरहन्थ्यो । आमा हामीलाई लोककथाहरू मात्र नभएर दुःखका कथाहरू पनि सुनाईरहनु हुन्थ्यो । रोइरहनु आमाको आदत बनिसकेको थियो । आमाको गहिरो उदासीमा जीवनको तस्विर सुन्दर देख्ने सम्भावना कम हुन्थ्यो । घरमा पालेका कुखुराका अण्डासँग कापी–कलम विनिमय गरेर पढेका अनुभवहरू छन् । स्कुलमा साथीहरूले फेरी हाँसोको पात्र बनाउन खोज्थे । केटीका नामहरू मेरो नामसँग जोडेर बेन्च र ब्ल्याकबोर्ड भरिदिन्थे । लाहुरेहरूका लागि जुन चिठ्ठी लेखिदिन्थें, त्यसमा दुःखका अभिलेखहरू मात्र हुन्थे । यिनै कुराहरूले मलाई लेख्न प्रेरणा दिए सायद ।
साहित्य लेखनको अघिल्लो चरणमा तपाईंले कविता विधालाई बढी प्राथमिकता दिनुभएको देखिन्छ । यद्यपि पछिल्लो समयमा आएर निबन्ध लेखनमा पनि तपाईंको सक्रियता देखियो । अचेल कवितालाई ‘धेरै लेखिने तर थोरै पढिने’ विधा भन्न थालिएको परिप्रेक्ष्यमा निबन्ध लेखनतर्फ आफुलाई लगाउनुमा तपाईंले पनि अस्तित्वको सङ्कट महशुस गर्नुभएको अर्थ लगाउन मिल्छ ?
विविधतापूर्ण जीवनमा लेखनका तरिकाहरू पनि विविधतापूर्ण नै भएको अर्थपूर्ण लाग्छ मलाई । विविधताको चाहनाले नै म निबन्धमा लागेको हुँ । सकेसम्म बढी पाठकसम्म पुग्न मात्र निबन्धमा लागेको भन्न पनि असजिलो छ । किनकि निबन्ध यात्रामा लाग्दा निबन्ध पनि बिकाउ विधाजस्तो लाग्दैनथ्यो मलाई । ‘चौबीस रिल’को प्रकाशन पछि मात्र थाहा भयो कि निबन्धका पाठकहरू उल्लेख्य रहेछन् । पाठकहरूको संख्यालाई मात्र ध्यान दिएको भए सायद आख्यान नै रोजिन्थ्यो होला ।निबन्धको अध्ययन गर्दा मलाई के पनि लाग्यो भने यो ‘अभिव्यक्ति कलाको विश्व भाषा’ जस्तो रहेछ । जसरी अरू भाषाका शब्दहरू लिएर अङ्ग्रेजी भाषा समृद्ध भई विश्व भाषा बन्यो, त्यसरी नै साहित्यका सबै बिधा उपबिधाहरू समाहित भएर निबन्धको सुन्दर दुनियाँ निर्माण भएको रहेछ । कवितात्मक अभिव्यक्ति मात्र नभएर निबन्धमा आख्यान, नाटकियता, संस्मरण र आत्मकथात्मकताका यथार्थ झिल्काहरू पनि पाइन्छन् । यो विधा आफैमा विचार र कलाको वृहद् क्यानभास भएको देख्छु । बरू केही लेखकका कोरा अनुभूतिमा मात्र सिमित भएर यसको बौद्धिक यात्रा अभरमा पर्ने हो कि भन्ने भय चाहीँ छ ।
तर म कवितालाई नै मेरो मूल विधा स्वीकार गर्छु ।
साहित्यको विश्व इतिहास हेर्दा खास–खास राजनीतिक व्यवस्था वा विचारले साहित्यका खास–खास विधाहरूलाई आफ्नो हतियारको रूपमा प्रयोग गरे भन्ने कुरालाई केहि विश्लेषकहरूले जोड दिएको पाइन्छ । जस्तो कि कवितालाई स्तुती परम्पराको रूपमा सामन्तवाद र त्यसअघिका प्राचीन व्यवस्थाहरूले बढावा दिएकोले विशेषतः सामन्तवादी युगमा आएर कविताले आफ्नो फैलावट पाएको र सामन्तवादको अन्त्यसँगसँगै उदाएको पूँजीवादी व्यवस्थाले उपन्यासलाई आफ्नो मूल हतियारको रूपमा अगाडी बढाएकोले अहिलेको युग उपन्यासको युग हो भन्ने तर्कहरू पनि बजारमा सुनिन्छ । तपाईं यो विचारसँग कत्तिको सहमत हुनुहुन्छ ? के साहित्यको कुनै खास विधा कुनै खास राजनीतिक व्यवस्था वा विचारको हतियार बन्न सक्छ ? यदि यस्तै हो भने पूँजीवादी व्यवस्था पछि आउने भनिएको व्यवस्थामा साहित्यको कुन विधाले बढी प्रश्रय पाउला ?
विचारलाई कलापूर्ण रूपमा व्यक्त गर्न विभिन्न विधाहरूको आविष्कार भएको छ । विचार मानविय र अमानविय दुबै छन् । बीचका मौन विचारहरूले त कलालाई उद्दयेश्यसँग जोड्न समेत चाहन्नन् । कलालाई उनीहरू निरपेक्ष रूपमा बुझ्दछन् ।
इतिहासमा कलाको खोलाबाट पानी लगेर अमानविय विचारको खेतबारी सिच्न प्रयोग गरिएको कुरा पनि सत्य हो । जस्तै: कवितालाई राजा–महाराजाको स्तुती गाउन, सामन्त र शोषकहरूको नायकत्व स्थापित गर्न, शोषित् र उत्पीडितहरूलाई मनोवैज्ञानिक रुपमा कमजोर पार्न पनि प्रयोग भएको छ । सामन्तवादी युगमा कविता हतियार भयो, पूँजीवादी युगमा आख्यान हतियार बनेको कुरा गरिदैंछ र भोली आउने युगमा पनि कुनै बिधाको खास प्रयोग कुनै न कुनै विचार बचाउन हुने नै छ । यसबाट कलाको शक्ति उजागर हुन्छ । प्रत्येक असल वा खराब व्यवस्थाले कलाको उच्च प्रयोग गर्न खोज्छ । कला असल र मानविय व्यवस्थाको स्थापनामा प्रयोग भए त सुन्दर कुरा नै हो । म त्यसलाई वर्जित ठान्दिनँ ।
प्रत्येक बलशाली लेखकले बिम्व र मिथकलाई सार्वभौम बनाउने प्रयास गर्छ । सफलता पनि प्राप्त गर्दछ । त्यसैले विम्बवादी कवि एज्रा पाउण्डले बिम्वको सफलतालाई नै काव्यको सफलता मानेका हुनसक्छन् । "Literature does not exist in a vacuum. Writers as such have a definite social function exactly proportional to their ability as writers" भन्ने एज्राले विम्बको तागतलाई खास महत्व दिदैं "The Image is more than an idea." भनेका छन् ।
विम्ब वा मिथकको सार्वभौमिकता र सार्वकालीकता फरक कुरा हुन् । विम्ब र मिथकहरूको सार्वकालीकतामाथी शङ्काहरू उत्पन्न हुन सक्छन् । एकलब्यलाई अब औंला काटेर गुरु दक्षिणा दिने असल शिष्य मान्ने कि राजकुमारहरूको नायकत्व डगमगाउन नदिन द्रोणाचार्य ऋषिको षडयन्त्रमा फसेको उत्पीडित पात्र मान्ने ? कवि गीतकार साहिर लुधियानवीले प्रेमको प्रतिक मानिने ताजमहललाई “प्रेमीहरूकै मजाक उडाउने सुन्दर निर्माण” मानिदिए । उनले लेखे, “एक शाहंशाह ने ताजमहल बनाके हम गरीबोंका प्यारका मजाक उडाया है ।”
बहसहरूले मीथकहरूको वैचारिक प्रक्षेपणलाई पूनर्मूल्याङ्कन गर्न सचेत पार्दैछन् । जहाँसम्म लोककथा र उखानको प्रसङ्ग छ, तिनमा शक्ति पूजाको प्रत्यक्ष प्रभाव अनुभव हुन्छ । कतिपय उखानहरू उच्चारण गर्दा पनि नमीठो गन्ध आउँछ – अमानवियताको । ति कसैलाई कमारा–कमारी बनाइराख्न बनाइएका कलात्मक हतियार हुन् । अघि पनि भनें, कलाले सधैं मानविय विचारको मात्रै संरक्षण गर्दैन । त्यसैले म तिनीहरूसँग सहमत छु जो मान्छन् कि अमानविय विचारलाई कलापूर्वक लेख्नेहरूले सभ्यताको पर्यावरणमा मन्द विष फैलाइरहेका हुन्छन् । कतिपय उखान र लोककथामा परिवर्तन वा पुनर्विचार जरुरी छ ।
आशावादी हुनु एक कुरा, हुनु अर्को कुरा । म पनि यस विषयमा आशावादी मात्रै हुँ । स्थिती भने बिल्कुल फरक छ । एनसेल लिटरेचर फेस्टिबल, २०१२ को एक तातो छलफलको क्रममा लेखकद्वय खगेन्द्र संग्रौला र अभि सुवेदीले रोचक पारामा यस विषयमाथि राखेको कुरा सुनेपछि मलाई लाग्यो, साहित्य लेखेर बाँच्ने सपना पनि गोपालप्रसाद रिमालकी आमाले यौवनभरि देखेको क्रान्तिकारी छोराको सपनाजस्तै रहेछ । दर्शकदीर्घामा थिए– अभि सुवेदी र खगेन्द्र संग्रौला । शेखर खरेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अभि सरले भन्नुभाथ्यो, “नेपालका लेखकहरूले प्रेमपत्र लेखेर वा त्यसलाई सम्बन्धित व्यक्तिको हातमा पुर्याए बापत पारिश्रमिकको रुपमा चिया कफी मात्र पाएका छन् । मैले पनि यस्तो पारिश्रमिक अग्रज लेखकहरूबाट पटक–पटक पाएको छु । ज्यान राज्यको जिम्मा हो भन्नेहरू भ्रममा बाँचेर मरे । हाम्रो हालत पनि उस्तै हो ।” खगेन्द्र दाईले भन्नुभाथ्यो, “सिर्जनशील र अखबारी दुवै लेखनबाट मेरो दैनिक खर्चको १७ प्रतिशत मात्र कमाई हुन्छ ।” सबैभन्दा बढी अखबारी लेखन गर्ने सुवेदी र संग्रौलाको त त्यो चाल छ भने अरू नेपाली लेखकहरूको चाल के होला ? अनुमान लगाउन अप्ठ्यारो छैन । यद्यपि, अभि र खगेन्द्रहरूको अनुभव नेपाली लेखकहरूको भयावह चित्र हो । तर लेखेर बाँच्ने वृत्तिको सम्बन्धमा पहिलाको तुलनामा केही सार्थक परिवर्तन आएको कुरा म जस्तो सामान्य लेखकले पनि महसुस गर्न पाएको छु । लेखक भएर अमेरिका पुरस्कार लिन जाने अवसर पाएको छु । पाठकहरूको अमूल्य माया र सम्मान पाएको छु । जसलाई पैसासँग दाँज्न मिल्दैन । रोयल्टीले दशैं तिहार राम्रैसँग मनाउन पाएको छु । यो पनि गजब कुरा लाग्छ मलाई त ।
जहाँसम्म व्यावसायिकताको कुरा छ, यो त पहिलाभन्दा धेरै गुना बढी फस्टाएको पाउँछु । महाकविको मुनामदन पचार हजार प्रति बिक्न कैयौं वर्ष लाग्यो, नारायण वाग्लेको पल्पसा क्याफे त छोटो समयमै ह्वात्तै बिक्यो । अहिले उनी त्यही कृतिका कारण एसियाली सफल लेखकहरूको हारमा उभिन समेत सफल भएका छन् । लेखकको काम उत्कृष्ठ लेखनमा ध्यान दिने हो तर अहिले लेखकलाई बाँच्न केही न केही व्यवसायिक हुनुपर्ने बाध्यता पनि छ । राज्यले नै लेखकलाई हेर्ने दिन नआएसम्म आफुभित्रको लेखकलाई बचाउन पनि यो जरूरी छ । बरू राज्यले लेखकलाई हेर्ने दिन त एक युटोपिया नै पो होला कि जस्तो वा बेकेटका पात्रहृरूले प्रतीक्षा गरेको गोदोजस्तो पो होलान् कि भन्ने आशङ्काले त्रसित बनाउँछ । यही त्रासलाई हल्का मथ्थर पार्न पनि ‘आवश्यक व्यवसायिकता’लाई म साह्रै गलत मान्दिनँ ।
चितवन, मकवानपुर, पोखरा, इटहरी लगायत राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पछिल्लो समय साहित्यिक गतिविधीहरू निकै बढेको देखिन्छ । यसलाई तपाईंले कसरी हेरिराख्नुभएको छ ?
यो सकारात्मक कुरा हो । गतिशिलतामा दुर्घटना र प्राप्ति दुवै सम्भावना हुने भएकोले क्षतिहरूबाट बढ्दै अघि बढ्न जरुरी देख्छु । अब हो–हल्ला, प्रशंसामुखी र प्रचारमुखी कार्यक्रमहरू भन्दा पनि गुणात्मक गतिशिलताको कसरत जरुरी छ ।
चितवन अन्नबालीको लागि मात्र नभएर लेखनको लागि पनि उर्वर भूमि हो । यो नेपाली जातीको संगमस्थल पनि हो । प्राज्ञिक, सांस्कृतिक र चेतनाको विविधता यसको शक्ति हो । यसलाई पक्रन सके चितवनको साहित्य अझ बढी समृद्ध हुने सम्भावना देख्छु । कहिलेकाहीँ अलिक हल्लामुखी र हलुका विषयवस्तुमा अल्मलिएको देखिए पनि चितवनको साहित्यिक परम्परा सुनौलो नै छ ।
साहित्यमा प्रयोग गरिने विम्बहरू सार्वभौम र सार्वकालीक हुन्छन् भन्ने एकथरी विचार देखिन्छ । तर त्यो विचारको प्रतिध्रुवमा बसेका विश्लेषकहरूले चाहिँ साहित्यमा प्रयोग गरिने बिभिन्न विम्ब, मिथक, उखान तथा लोकोत्तिहरूले पनि समयको खास कालखण्ड र त्यस कालखण्डमा हाबी विचारधारालाई झल्काउँछ भन्ने विचार अभिव्यक्त गरेका छन् । यी दुई विचारको प्रवाहमा तपाईं आफुलाई कुन विचारको नजिक पाउनुहुन्छ ? साहित्यमा प्रयोग हुने विम्ब तथा मिथकहरू के साँच्चै सार्वभौम हुन्छन् ? साहित्यका विम्ब तथा मिथकहरूको कुनै आयु हुन्छ कि हुँदैन ?
प्रत्येक बलशाली लेखकले बिम्व र मिथकलाई सार्वभौम बनाउने प्रयास गर्छ । सफलता पनि प्राप्त गर्दछ । त्यसैले विम्बवादी कवि एज्रा पाउण्डले बिम्वको सफलतालाई नै काव्यको सफलता मानेका हुनसक्छन् । "Literature does not exist in a vacuum. Writers as such have a definite social function exactly proportional to their ability as writers" भन्ने एज्राले विम्बको तागतलाई खास महत्व दिदैं "The Image is more than an idea." भनेका छन् ।
विम्ब वा मिथकको सार्वभौमिकता र सार्वकालीकता फरक कुरा हुन् । विम्ब र मिथकहरूको सार्वकालीकतामाथी शङ्काहरू उत्पन्न हुन सक्छन् । एकलब्यलाई अब औंला काटेर गुरु दक्षिणा दिने असल शिष्य मान्ने कि राजकुमारहरूको नायकत्व डगमगाउन नदिन द्रोणाचार्य ऋषिको षडयन्त्रमा फसेको उत्पीडित पात्र मान्ने ? कवि गीतकार साहिर लुधियानवीले प्रेमको प्रतिक मानिने ताजमहललाई “प्रेमीहरूकै मजाक उडाउने सुन्दर निर्माण” मानिदिए । उनले लेखे, “एक शाहंशाह ने ताजमहल बनाके हम गरीबोंका प्यारका मजाक उडाया है ।”
बहसहरूले मीथकहरूको वैचारिक प्रक्षेपणलाई पूनर्मूल्याङ्कन गर्न सचेत पार्दैछन् । जहाँसम्म लोककथा र उखानको प्रसङ्ग छ, तिनमा शक्ति पूजाको प्रत्यक्ष प्रभाव अनुभव हुन्छ । कतिपय उखानहरू उच्चारण गर्दा पनि नमीठो गन्ध आउँछ – अमानवियताको । ति कसैलाई कमारा–कमारी बनाइराख्न बनाइएका कलात्मक हतियार हुन् । अघि पनि भनें, कलाले सधैं मानविय विचारको मात्रै संरक्षण गर्दैन । त्यसैले म तिनीहरूसँग सहमत छु जो मान्छन् कि अमानविय विचारलाई कलापूर्वक लेख्नेहरूले सभ्यताको पर्यावरणमा मन्द विष फैलाइरहेका हुन्छन् । कतिपय उखान र लोककथामा परिवर्तन वा पुनर्विचार जरुरी छ ।
जिविकाको हिसाबले नेपालमा पछिल्लो समय साहित्य लेखेरै बाँच्न सक्ने स्थितीको विकास भएको हो ?
![]() |
| अन्तरवार्ताकार |
एकथरी कवि/लेखकहरू साहित्य उत्पादनशील र व्यावसायीक हुन नसकेको, साहित्य लेखेर मात्रै बाँच्ने स्थिती नभएकोमा निकै गुनासो गर्छन् भने अर्काथरी कवि÷लेखकहरू बजारवाद र उपभोक्तावादले साहित्यलेखनलाई प्रभावित पारेको र सो प्रभावलाई निस्तेज पार्न आवश्यक रहेको तर्क गर्छन् । परस्परविरोधी यी दुई विचारहरू तपाईंलाई कस्तो लाग्छ ? साहित्यलेखन उत्पादनशील र व्यावसायीक हुन आवश्यक छ कि छैन ?
उत्पादनशीलता त साहित्यको प्राथमिक शर्त नै भयो । साहित्यलाई कुनै उद्देश्यसँग जोड्नु हुन्न भन्नेहरूले पनि साहित्यमा कलाको उत्पादन त खोज्छन् नै । तर साहित्यको उत्पादनशीलता प्रष्ट देखिने गरी र सामान्य आँखाले पर्गेल्न सकिने गरी नआउन सक्छ । छोटो कालखण्डमा यसको गहिरो मूल्याङ्कन सम्भव पनि हुँदैन । अहिलेको साहित्य उत्पादनशिल नभएको कुरासँग म सहमत छैन । बरू कम उत्पादनशिल भएको चैं हुनसक्छ ।जहाँसम्म व्यावसायिकताको कुरा छ, यो त पहिलाभन्दा धेरै गुना बढी फस्टाएको पाउँछु । महाकविको मुनामदन पचार हजार प्रति बिक्न कैयौं वर्ष लाग्यो, नारायण वाग्लेको पल्पसा क्याफे त छोटो समयमै ह्वात्तै बिक्यो । अहिले उनी त्यही कृतिका कारण एसियाली सफल लेखकहरूको हारमा उभिन समेत सफल भएका छन् । लेखकको काम उत्कृष्ठ लेखनमा ध्यान दिने हो तर अहिले लेखकलाई बाँच्न केही न केही व्यवसायिक हुनुपर्ने बाध्यता पनि छ । राज्यले नै लेखकलाई हेर्ने दिन नआएसम्म आफुभित्रको लेखकलाई बचाउन पनि यो जरूरी छ । बरू राज्यले लेखकलाई हेर्ने दिन त एक युटोपिया नै पो होला कि जस्तो वा बेकेटका पात्रहृरूले प्रतीक्षा गरेको गोदोजस्तो पो होलान् कि भन्ने आशङ्काले त्रसित बनाउँछ । यही त्रासलाई हल्का मथ्थर पार्न पनि ‘आवश्यक व्यवसायिकता’लाई म साह्रै गलत मान्दिनँ ।
अन्तर्राष्ट्रिय साहित्यमा पुरानो भइसके पनि नेपाली साहित्यमा पछिल्लो समय निकै चलिरहेको बहसहरू मध्ये एक उत्तरआधुनिकतावादको बहस पनि हो । यो बहसलाई तपाईंले कसरी हेरिराख्नु भएको छ ? यो बहसले नेपाली साहित्यलाई केहि बौद्धिक खुराक दिन्छ भन्ने लाग्छ ? कि यो बौद्धिक–विलासमै सीमित होला ?
सुरूवातमा ताजापन लिएर आएको विचारजस्तो लागेर म पनि यसको मोहमा फसेँ केही समय । समय पनि त्यस्तै थियो, अराजक विचार बढी मन पराउने । बढो कठोर भएर आफूले बोकेका मूल्य मान्यतामाथि तीव्र शङ्का गर्न र परिमार्जन गर्न मन पराउने । अतृप्त वैचारिक भोक लिएर हिँडिरहेको उमेर । यहि कारणले पनि म त्यो भोक बारम्बार महसुस गर्छु तर पहिलाकै हदमा अतृप्त छैन जस्तो लाग्छ । पूर्ण तृप्तता फेरी सपना नै हो । अहिले लाग्छ, यो विचार साइन्स थ्रिलर ‘अवतार’मा कुनै नयाँ ग्रहमा उभिएको वृक्षजस्तो रहेछ । कतै जीवनको पान्डुरा ग्रहमा यो बढी सत्य होला, पृथ्वीको जीवनमा त यो बौद्धिक विलास नै हो कि जस्तो लाग्छ अचेल । अनन्त केन्द्रहरूको खोज, वैयक्तिक अनुभूतिलाई मात्र अनावश्यक महत्व, सबै लेखक, इतिहास र महाआख्यानहरूको मृत्युको कुराहरू सुन्दा चमत्कारिक अनुभव हुन्छ तर गहिराईमा हेर्दा चाहीँ यी कुराहरू झुक्याउनेजस्ता लाग्छन् । तर म यस विचारप्रति अनुगृहित नै छु । किनकि यसलाई बुझ्ने कोशिसमा मैले जीवनको लागि केही थप विचारका साँघुहरू तर्न पाएको छु । यो पनि उपलब्धी नै सम्झन्छु ।
नेपाल लगायत दक्षिण एसियाका अधिकांश मुलुकहरूको साहित्यको मूलधार माक्र्सवादी साहित्य नै हो भन्ने एकथरी मान्यता छ । के तपाईं यो मान्यतासँग सहमत हुनुहुन्छ ?
अरू सार्क देशहरूमा माक्र्सवादी प्रभावको विषयमा मैले व्यवस्थित अध्ययन नगरेको कारणले केही भन्न अनुपयुक्त हुन्छ । खासमा नेपाली साहित्यमा माक्र्सवादी सौन्दर्यशास्त्र र समालोचनाको पनि व्यवस्थित अध्ययन गरेको छैन मैले । तर नेपाली साहित्यको सामान्य अध्येताको हैसियतले केही कुरा जोडौं । गरिबी, शोषण, उत्पीडन भएको देशमा मुक्तिका सपनाहरू फुल्नु स्वभाविक हो । यस हिसाबले समय र समाजको ‘रिफ्लेक्सन’ साहित्यमा आएको र मूल रूपमा प्रगतिशीलता र परिवर्तनप्रतिको चाहना हाम्रो साहित्यमा आएको चाहीँ सत्य नै लाग्छ । तर हाम्रो देशमा ‘अर्थोडक्स माक्र्सवादी’हरू र माक्र्सवादको सौन्दर्य नबुझेका दुवैथरि लेखकहरू रुढ लाग्छन् । बहसहरू एकपाखे हुन्छन् । ‘अर्थोडक्स माक्र्सवादी’हरू कम्युनिष्ट पार्टीको सदस्यता नलिएकाहरूले समाज उत्थान, मुक्ति र पीडीतहरूको पक्षमा लेख्नै सक्दैनन् भन्ने अहम् पाल्छन् । पार्टी सदस्यता नलिएकाहरूले र माक्र्सवाद नमान्नेहरूले पनि यहाँ सार्थक रूपमा माक्र्सवादी सौन्दर्य चेतनामा आधारित भएर लेखिरहेका केही दृष्टान्तहरू हामीसँग छन् । अर्कोतर्फ माक्र्सवादको नाम नै सुन्न नचाहनेहरू ‘विचार लेख्नु’लाई षडयन्त्र ठान्छन् । उनीहरूलाई शब्दजाल, कोरा अनुभूति र कलाको लागि कला मात्रै साहित्य हो भन्ने लाग्छ । साहित्यलाई निरपेक्ष ढंगले बुझ्नु उनीहरूको प्रमुख विशेषता लाग्छ । यी अतिवादी किनारहरू बीचमा हाम्रो साहित्यको मूल नदी बगिरहेको छ कि जस्तो लाग्छ मलाई ।
त्यसो त केहि समालोचकहरू विश्वसाहित्य भन्ने कुनै छुट्टै साहित्य हुँदैन, विश्वका हरेक कुनामा लेखिने साहित्य विश्वसाहित्य हो भन्ने सम्मका तर्क गर्छन् । त्यसआधारमा भन्नुपर्दा नेपाल बाहिर लेखिने विश्वसाहित्य अझ भन्नुपर्दा अन्तर्राष्ट्रिय साहित्यको तुलनामा नेपालभित्र लेखिने विश्वसाहित्यको स्थान र स्थिती कस्तो देख्नु हुन्छ ?
सत्य हो, हरेक कुनामा लेखिएको साहित्य नै विश्व साहित्य नै हो । तर भाषा, धर्म र सांस्कृतिक दबदबाले कैयौं भाषाका उत्कृष्ठ साहित्य किनारीकृत भएका छन्, बनाइएका छन् । हाम्रो चुनौति नै हाम्रा चेतनाका मौलिक कुराहरूलाई विश्व बजारमा कसरी पुर्याउने भन्ने हो । नेपाली भाषा कम मानिसले बोल्छन् । बाहिरसम्म फैलिन अनुवादको सहारा नलिई सम्भव छैन । र यही क्षेत्र सबैभन्दा बढी उदासीन देखिन्छ । हालसालै अंग्रेजीमा आएको कारणले ‘पल्पसा क्याफे’ प्रमुख एसियाली कृतिमा पर्न सफल भयो । यस्ता सुन्दर कृतिहरू त हामीसँग कति छन् कति । तिनीहरूको अनुवाद अत्यन्त जरुरी भइसक्यो । विश्व साहित्यमा हाम्रो प्रष्ट उपस्थिती नदेखिएको कुरा त सत्य नै हो । कहिलेकाहीँ लाग्छ, शैलीको अनुकरण र आयातित विचारहरूलाई नै हामीले बढी महत्व दिएका हौं कि ? हाम्रा सुनाउन लायक कैयौं कुराहरू विश्वलाई सुनाउन हामी असमर्थ भएका हौं कि ? यस सम्बन्धमा पछिल्लो समयमा बहसहरू चलिरहेकाछन् । लेखक महेश पौडेलहरू ‘अब हामी हाम्रो लेखौं” भन्दै हिँडिरहेका छन् । डा. गोविन्दराज भट्टराईहरू ‘हामी अब उत्कृष्ट अनुवादको कुदाइले फड्को मार्ने तयारी गरौं” भन्दैछन् । यी सुन्दर कुराहरू हुन् ।
नेपालमा साहित्यको लागि प्रदान गरिने पुरस्कारहरू बेलाबेलामा विवादको कारण चर्चामा आउने गर्छन् । तपाईंको विचारमा लेखकको कारणले पुरस्कार विवादित हुन्छ कि पुरस्कारको कारण लेखक विवादित हुन्छ ? खासमा लेखक र पुरस्कार बिचको नाता के हो ? यो कस्तो हुनुपर्छ ?
पहिलो कुरा त खास लेखकले पुरस्कारको लागि लेख्दैन । पुरस्कारको पछि पनि लाग्दैन । पुरस्कार लेखकको पछि लाग्ने हो । केही पुरस्कारहरूलाई प्रतिष्ठित बनाउन सकिएको स्थिती म पनि देख्दिनँ । यसको अर्थ सधैं गलत छनौटमा मात्र ध्यान दिइएको छ भन्ने पनि होइन । सामान्यतया कृतिको गुणत्व र गुणवत्तालाई भन्दा लेखकसँगको निकटता र आस्थालाई नै छनौटको मापदण्ड बनाइएको हो कि झैं देखिन्छ । केही ‘नार्सिसस्’ लेखकहरू पुरस्कारको पछि स्याँस्याँ गर्दै दौडिरहेका र केही प्रमुख पुरस्कारहरू पूर्वाग्रही बनिरहेका दृष्यहरू देखिन्छन् । रङ्ग र निकटताको आधारमा पुरस्कार दिने प्रचलन ‘साहित्यक अपराध’ नै हो । यसबाट बचेर दिइने पुरस्कारहरू पवित्र छन् ।
प्रायःजसो तपाईं कविहरूले आफुले लेख्ने कविता जस्तै जीवन बाँच्नुपर्छ भन्नुहुन्छ । यसको आशय के अहिलेका धेरै कविहरू ढोंगी छन् भन्ने हो ? के कविताजस्तै जीवन बाँच्न सम्भव छ ?
लेखकहरू ढोंगी भएको मलाई पटक्कै मन पर्दैन । आचरण मध्ययुगिन कट्टर सामन्तको जस्तो तर भनाई र लेखाई महान् मानवतावादीको जस्तो देखाउनुले उसको असन्तुलनलाई जनाउँछ । हो, सोंचेजस्तो बाँच्न कठिन छ । तर एक असल लेखक सोंचेजस्तो बाँच्ने प्रयत्न पनि गर्दछ । सापेक्षित असलपन लेखकको बँचाई र लेखाई दुवैमा आएको राम्रो मान्छु म ।
तपाईंको विचारमा साहित्यले समाजलाई कसरी प्रभावित तुल्याउँछ ? समाजसँग निरपेक्ष रहेर साहित्य लेख्न सकिन्छ कि सकिदैंन ? प्रायः कवि/लेखकहरू समाजसँग नजिक तर सामाजिक व्यवहारहरूमा कमजोर हुन्छन् भनिन्छ । यसको कारण के होला ?
साहित्यले समयका असल, उत्कृष्ट र मानविय चेतनाहरू बोक्छ । यही उत्कृष्ट समय–चेतना बोकेर देशको ढुकढुकी चल्छ । कलाले समय–चेतना बोकेन भने सवल र सक्षम सांस्कृतिक बिम्वहरू निर्माण हुँदैनन् । देश पाखुरा र चेतना दुवै हो । मेरो विचारमा समाज निरपेक्ष साहित्यको अस्तित्व छैन । कवि र लेखकहरू समाज, समय र जीवनलाई गहिरो गरी पढ्छन् । परिणामस्वरूप एउटा निश्चित वैचारिक उचाई हासिल गर्छन् र त्यही अनुसार अरू चलेको हेर्न इच्छुक हुन्छन् । तर आम मानिसहरू आफ्नै तरिकाले बाँच्न अभ्यस्त हुन्छन् । यही द्वन्द्वात्मक सम्बन्धले गर्दा नै कविहरूलाई अव्यवहारिक मान्ने गरिएको हो ।चितवन, मकवानपुर, पोखरा, इटहरी लगायत राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पछिल्लो समय साहित्यिक गतिविधीहरू निकै बढेको देखिन्छ । यसलाई तपाईंले कसरी हेरिराख्नुभएको छ ?
यो सकारात्मक कुरा हो । गतिशिलतामा दुर्घटना र प्राप्ति दुवै सम्भावना हुने भएकोले क्षतिहरूबाट बढ्दै अघि बढ्न जरुरी देख्छु । अब हो–हल्ला, प्रशंसामुखी र प्रचारमुखी कार्यक्रमहरू भन्दा पनि गुणात्मक गतिशिलताको कसरत जरुरी छ ।
राजधानी बाहिरका अन्य जिल्लाहरूको तुलनामा चितवनको साहित्यिक स्थिती चाहिँ कस्तो छ ?
चितवन अन्नबालीको लागि मात्र नभएर लेखनको लागि पनि उर्वर भूमि हो । यो नेपाली जातीको संगमस्थल पनि हो । प्राज्ञिक, सांस्कृतिक र चेतनाको विविधता यसको शक्ति हो । यसलाई पक्रन सके चितवनको साहित्य अझ बढी समृद्ध हुने सम्भावना देख्छु । कहिलेकाहीँ अलिक हल्लामुखी र हलुका विषयवस्तुमा अल्मलिएको देखिए पनि चितवनको साहित्यिक परम्परा सुनौलो नै छ ।
विगत देखि वर्तमान सम्मका धेरै कवि/लेखकहरूमा धुम्रपान, मद्यपान लगायतका केहि अम्मलहरू समान रूपमा पाइन्छ । यस हिसाबले हेर्दा लेखन र सिर्जन प्रक्रियामा अम्मलको केहि भूमिका हुन्छ कि जस्तो पनि देखिन्छ । तपाईंलाई के लाग्छ ? साहित्य र अम्मल बिचको सम्बन्धलाई कसरी परिभाषित गर्नुहुन्छ ? के साहित्यलेखनका लागि अम्मल आवश्यकीय तत्व हो ?
अम्मलले मानिसको अवचेतन र अचेतनलाई सक्रिय पार्छ । लेखन वा सिर्जनाको तहमा चेतन मात्र नभई अवचेतन र अचेतनको पनि प्रभाव हुने हुनाले सायद सर्जकहरू अम्मलको सहारा बढी लिन्छन् । यसले लेखकलाई विरेचित पनि पार्छ । यसको अर्थ अम्मल बिना राम्रो लेख्न सकिन्न भन्ने चाहीँ होइन ।
अन्त्यमा, यस अक्षय अक्षर साहित्यिक पत्रिका मार्फत् भर्खरै साहित्यमा लागेका र लाग्ने विचार गरेका नयाँ पुस्ताका भाईबहिनीहरूलाई केहि भन्न चाहनुहुन्छ ?
पठन संस्कृति बलियो बनाएर, हल्लामा भन्दा गुणमा ध्यान दिएर र समालोचनात्मक गुण बोकेर लेखन गरौं । आत्मप्रशंसा र स्तुतीबाट बचौं । बनेका मानकहरूप्रति प्रश्न गर्ने अधिकार सुनिश्चित गरौं । नयाँपनको खोजी गरौं । अरू के भनौं ? म आफै पनि सिक्दैछु भर्खरै ।
-x-x-x-
(मकवानपुरबाट निस्किने साहित्यिक त्रैमासिक पत्रिका अक्षय अक्षरका निम्ति तयार पारिएको यो अन्तरवार्ता सोहि पत्रिकाको माघ–चैत्र २०७०, वर्षः १०, अङ्कः ४, पूर्णाङ्कः ३५ बाट अनलाइन पाठकहरूको लागि साभार गरि यो ब्लगमा प्रकाशित गरिएको हो । –Admin.)



Comments
Post a Comment